×

वीरगञ्ज १४ असार । वीरगञ्ज महानगरपालिका वडा नं. १२ सुरजी देवी माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकी श्रीमतीसहित सोही विद्यालयमा अध्यापनरत तीन जना शिक्षकको गुपचुप तरिकाले नियुक्ति भएको छ । यसअघि, प्रअ नविन मिश्राले भने एक जनाको मात्र नियुक्ति गरिएको भनेर ढाटेका थिए ।

उक्त विद्यालयले गत साल माघ ८ गते निकालेको विज्ञापन अनुसार सामाजिक विषयका लागि निमावि तहमा निमावि तृतीय करारमा १ र प्रावि तहमा प्रावि तृतीत करार पदमा दुई शिक्षक नियुक्त गर्न निवेदन आवहान गरेको थियो । तर यसबारे विद्यालयका शिक्षक/शिक्षिकाहरु बाहेक कसैलाई पनि थाहा पत्तो नदिई गुपचुप तरिकाले सोही विद्यालयमा अध्यापन गराईरहेका तीन जना शिक्षक/शिक्षिकाहरुलाई सो पदमा नियुक्त गरिएको छ ।

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष अजय गुप्ताकी श्रीमती सुनिता कुमारी (प्रावि अस्थायीमा कार्यरत) र सोही विद्यालयको अंग्रेजी माध्यममा अध्यापनरत वैजनाथ साह र बन्दना कुमारी ठाकुरलाई नियम मिचेर नियुक्ति दिइएको छ । असार १ गतेबाट तीनै जनाले हाजिर पनि गरिरहेका छन् । विज्ञापनमा निमावि तृतीय करार पदमा शिक्षक आवश्यकता भनेर उल्लेख गरिए पनि हाल भने अध्यक्ष गुप्ताकी श्रीमतीलाई निमावि राहत पद उल्लेख गरी हाजिर गराइएको छ ।

तीन पदका लागि गरिएको विज्ञापनमा नियुक्त गरिएका तीन जना शिक्षकको आवेदन बाहेक अन्य तीनको मात्र आवेदन परेको देखिन्छ । अन्य तीन जनामा एक जना सोही विद्यालयका एक शिक्षककी श्रीमती र वडामा विज्ञापन दर्ता गर्ने क्रममा वडा सचिव र वडाध्यक्ष मार्फत थाहा पाएर आवेदन दिएका दुई अन्य हुन् । वीरगञ्ज महानगरपालिकाको मुटुमा रहेको सो विद्यालयका लागि आवहान गरिएको तीन शिक्षक पदको नियुक्तिको लागि जम्मा ६ जनाको मात्र आवेदन पर्नु आफैमा अस्वाभाविक देखिन्छ ।

शिक्षा नियमावलीको करारमा शिक्षक नियुक्ति सम्बन्धी व्यवस्थाको नियम ९७ को ५ बमोजिम उपनियम ३ अनुसार शिक्षक नियुक्तिको लागि गरिएको विज्ञापनको सूचना शिक्षा विकास तथा समन्वय इकाई, सम्बन्धित विद्यालयको श्रोत केन्द्र र सम्बन्धित गाउँपालिका वा नगरपालिकामा टाँस्नु पर्दछ । तर विद्यालयले निकालेको सो विज्ञापन कतै पनि नटाँसिएको श्रोतले दाबी गरेको छ । वडामा भने विज्ञापनको समय सकिनु एक दिन अघि मात्र दर्ता गराएर औपचारिकता पूरा गरिएको भनी वडाध्यक्ष रामदरश कुशवाहाले यसअघि प्रष्ट पारिसकेका छन् ।

शिक्षक छनोट समितिका सदस्य सचिव विद्यालयका प्रधानाध्यापक प्रअ नविन मिश्राले विज्ञापन गरिएको पदमा नियुक्ति दिन पहिलेदेखि नै सेटिङ्ग मिलाईसकेका तीन शिक्षक र विद्यालयका अन्य शिक्षक बाहेक कसैलाई पनि सुईको समेत दिएको देखिदैंन । व्यवस्थापन समितिका अध्यक्षकी श्रीमतीलाई निमाविको कोटा दिएर उनको मुख बन्द गराई अन्य दुई पदमा गुपचुप नियुक्ति दिएर प्रअ मिश्राले लाखौं असुलेर भ्रष्टाचार गरेको श्रोतले बतायो ।

यस्तै, शिक्षा नियमावली कै करारमा शिक्षक नियुक्ति सम्बन्धी व्यवस्थाको नियम ९७ को ४ बमोजिम करारमा शिक्षक नियुक्ति गर्दा शिक्षा विकास तथा समन्वय इकाईबाट दरबन्दी रिक्त रहेको व्यहोरा प्रमाणित गराएर मात्र नियुक्ति गर्नुपर्ने हुन्छ । तर सुरजी देवी माविको दरबन्दी रिक्त भएको व्यहोरा प्रअ मिश्राले प्रमाणित गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाई, पर्साका शाखा अधिकृत बृजकिशोर प्रसादले यसको पुष्टि गरे । उनले भने “न त विज्ञापन निकाल्दा यस कार्यालयमा सूचना टाँस भएको छ, न त नियुक्ति दिनु भन्दा अगाडि दरबन्दी रिक्त रहेको व्यहोरा प्रमाणित गराईएको छ ।”

यस्तै, नियमावलीको ९७ को ७ अनुसार विद्यालयले नियम बमोजिम करारमा शिक्षक नियुक्ति गरेको जानकारी शिक्षा विकास तथा समन्वय इकाईलाई दिनुपर्नेछ । तर विद्यालयले शिक्षक नियुक्तिबारे हालसम्म इकाईलाई जानकारी दिएको छैन । इकाई, पर्साका शाखा अधिकृत बृजकिशोर प्रसादले भने “कसरी, कहिले र कसलाई नियुक्ति दिइएको हो, हामीलाई केही थाहा छैन, नियमावली अनुसार नियुक्ति भएको छैन, जसले नियुक्ति दिएको हो, उहाँले नै यसको जिम्मेवारी लिनुहुन्छ ।”

बाँकी अर्को भागमा…….

Back to top