×

जनकपुरधाम १४ असार । २ मा थप २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार धनुषा, महोत्तरी र पर्सामा गरेर २९ जना कोरोना संक्रमित थपिएका हुन्। प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना र पर्सामा दुई जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले बताए।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

त्यस्तै, महोत्तरीको सम्सी नगरपालिकामा १४ देखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टिनमा एक वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जनामा कोरोना देखिएको छ।

यस्तै, महोत्तरीकै लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका सचिव डा.घिमिरेले जानकारी दिए।

योसँगै प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ। जसमा दुई सय महिला तथा तीन हजार एक सय १९ जना पुरुष रहेका छन्।

पछिल्लो पटक सङ्क्रमितबाट घरपरिवारमा पनि सरेकाले बालबालिकामा सङ्क्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले बताए। सङ्क्रमितहरु घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय भएको उनको भनाइ छ।

प्रदेश २ को विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामीहरु निको भएका छन्। अहिलेसम्म एक हजार चार सय १५ जना निको भएका छन्।

Back to top