वीरगञ्ज १३ असार । वीरगञ्ज महानगरपालिकाको आदेशलाई समेत लत्याउदैं सुरजी देवी माविका प्रअले शिक्षक नियुक्ति प्रक्रिया जारी राखेको खुलेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १२ स्थित सो विद्यालयका प्रधानाध्यापक नविन मिश्राले प्रक्रिया स्थगन लागि बीरगन्ज महानगरले गरेको आदेशलाई समेत बेवास्ता गरेका हुन् ।
योग्यलाई भन्दा पनि आर्थिक प्रलोभनको आधारमा नजिक आवेदकलाई शिक्षक नियुक्त गर्न लागिएको भन्दै उजुरी परेपछि वडा अध्यक्ष रामदरश कुशवाहाले वीरगञ्ज महानगर कार्यपालिकाको कार्यालयलाई बोधार्थ राख्दै नियुक्ति प्रक्रिया स्थगन गर्न पत्र काटेका थिए ।
वडा कार्यालयको शिक्षक नियुक्ति प्रक्रिया स्थगन गर्ने पत्रानुसार बीरगन्ज महानगरपालिकाले पनि २०७६ साल चैत ५ गते नै नियुक्ति प्रक्रिया रोक्का गरी प्रधानाध्यापक मिश्रालाई सम्बन्धित कागजातको विवरण पेश गर्न भनेको छ । तर सो रोक्का पत्र प्रधानाध्यापक मिश्राले हालसम्म नबुझेको श्रोत बताउँछ ।
कोरोनाको महामारीले चैत ६ गतेदेखि विद्यालय बन्द भएपछि सोही बहानामा रोक्का पत्र प्रअ सिंहले नबुझेको जनाइएको छ । महानगरले प्रक्रिया स्थगित गर्न भनेको रोक्का पत्रबारे बारम्बार जानकारी गराउँदा समेत मिश्राले विभिन्न बहानामा पत्र नबुझेर नियुक्ति प्रक्रिया अघि बढाइरहेको जानकारी प्राप्त भएको छ ।
यसैबीच, वडाध्यक्ष रामदरश कुशवाहाले आफुलाई केही पनि जानकारी नगराइकन प्रअ मिश्राले नियुक्ति प्रक्रिया अघि बढाएको बताए । “शिक्षक नियुक्तिको विज्ञापन पनि जानकारी नदिईकन गरे, यसबारे सोध्दा विज्ञापन नै निकालेको छैन भनेर पटक–पटक ढाटें” वडाध्यक्षले कुशवाहाले भने “हेडमास्टरले बदमासी गरिरहेका छन् ।” विज्ञापनको समय सकिनु एक दिन अघि मात्र वडामा आएर विज्ञापन दर्ता गराएको र सूचना लुकाएको उनले आरोप लगाए ।
वडामा उजुरी परेपछि वीरगञ्ज महानगरमा जानकारी गराएको र महानगरले शिक्षक नियुक्ति प्रक्रिया रोक्का सम्बन्धमा पठाएकोमा प्रअ मिश्राले बुझ्न नमानेको उनले भने ।
प्रधानाध्यापक मिश्राले भने बोर्डको निर्णय अनुसार विज्ञापन गरिएको तीन पदमध्ये एक जना शिक्षक पदको नियुक्ति प्रक्रिया अघि बढाइएको बताए । “बोर्ड बैठकमा वडाध्यक्षको पनि हस्ताक्षर छ, निर्णय भयो, मेरो काम कार्यन्वयन गर्ने हो, महानगरपालिकामा आवश्यक प्रक्रियाको लागि फाइल पठाई सकिएको छ” मिश्राले भने “अब महानगरको काम हो, नियुक्ति हुन पनि सक्छ वा रोक्का पनि हुन सक्छ ।” रोक्का स्थगन गर्ने चिठी किन नबुझेको भन्ने प्रश्नमा उनले कसैले चिठी बुझेकोले चिठीको खोजबिन भइरहेको दाबी गरे ।
यता, वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले उजुरी परेपछि अधिकृत खटाएर छानबिन गरिएको र नियम सम्बत देखिएपछि तीनै जना शिक्षकको नियुक्ति गरिएको दाबी गरे ।
तर यहाँ प्रअ मिश्रा र महाशाखा प्रमुख कर्णको कुरा बाझिएको छ । प्रअ मिश्राले एक जना शिक्षकको नियुक्ति भएको दाबी गरे भने कर्णले भने तीनै जना शिक्षकको नियुक्ति भएको बताएका छन् । यस्तै, उजुरी परेपछि प्रक्रिया स्थगित गरी छानबिनका लागि आवश्यक कागजात मागेको महानगरको शिक्षा महाशाखाले प्रअले सो चिठी नबुझेको अवस्थामा छानबिन कसरी गर्यो ? शंका पैदा भएको छ ।
सुरजी देवीको यस शिक्षक नियुक्ति प्रक्रियामा प्रअदेखि महाशाखासम्मका कर्मचारीको मिलोमतोमा लाखौंको चलखेल भएको श्रोतको दाबी छ । नियम मिचेर गरिएको सो नियुक्ति प्रक्रियाको बारेमा आगामी भागमा लेख्नेछौं ।