वीरगन्ज ९ असार । कोरोना सङ्क्रमणको कारण नारायणी अस्पतालले सेवा खुम्च्याएर सञ्चालनमा ल्याए पनि त्यही कार्यरत चिकित्सकहरूले भने निजी क्लिनिकमा सेवा बढाएर काम गर्दैछन् ।
नारायणी अस्पतालले कोरोना सङ्क्रमणको कारण पचास प्रतिशतभन्दा कम सेवा प्रवाह गरेको छ। बिरामी जाँच, भर्नालगायतमा पूर्ववत् सेवाभन्दा आधा घटाइएको छ।
त्यहीं अस्पतालमैं कार्यरत चिकित्सकहरूले निजी क्लिनिकमा भने सङ्क्रमणको बेवास्ता गर्दै जथाभावी बिरामी चेकजाँच गर्दैछन् । वीरगंजमा करीब तीन सय चिकित्सक सक्रिय छन् । उनीहरूमध्ये अधिकांशको निजी क्लिनिक छ । निजी क्लिनिकमा अहिले थर्मल गनको प्रयोग थोरै मात्रामा भइरहेको छ ।
यसैगरी, बिरामी र सँगै आउने व्यक्ति क्लिनिकमा प्रवेश गर्दा विसङ्क्रमित भएर जाने व्यवस्था पनि छैन । त्यस्तै, बिरामी र सँगै जाने व्यक्तिले पञ्जा र मास्कको प्रयोग कमै गरेको पाइन्छ ।
नेपाल चिकित्सक सङ्घ, नारायणीका महासचिव डा उदयनारायण सिंहले वीरगंजको क्लिनिक पुरानो संरचनामा भएकोले केही ठाउँमा समस्या रहेको बताए । उनले बिरामीभन्दा पनि उनीहरूसँग आउने व्यक्तिहरूको सङ्ख्या बढी भएको अनुगमनको क्रममा देखिएको बताए ।
डा सिंहले सङ्क्रमणबाट जोगिने गरी काम गर्न चिकित्सकहरूलाई निर्देशन दिएको बताए । केही निजी क्लिनिकमा अत्यधिक भीड भएको आफूले अनुगमनको क्रममा देखेको बताए । लकडाउन खुला भएसँगै निजी क्लिनिकमा यस्तो समस्या देखिएको र यसबारे निरन्तररूपमा सुझाव दिने कार्य भइरहेको उनले बताएका छन् ।
नारायणी अस्पतालमा सञ्चालित बहिरङ्ग सेवामा एउटा विभागले दैनिक पच्चीसजना मात्र बिरामी चेकजाँच गर्ने व्यवस्था गरिएको छ । यसैगरी, करीब चार सय शयाको सो अस्पतालमा अहिले दुई सय बिरामी पनि भर्ना गरिएको छैन ।
सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न अस्पतालले यस्ता प्रक्रियाहरू अवलम्बन गरेको छ भने त्यहीं कार्यरत चिकित्सकहरू भने निजी क्लिनिकमा लापर्बाह देखिएका छन् । साभार prateekdaily.com बाट