×

वीरगन्ज ७ असार । नियमविपरीत अहिले पनि भेडाहा, कर्जनिया र सिंघाही नदीबाट खोलाजन्य पदार्थको उत्खनन जारी छ। जेठ मसान्तमा नै गिट्टी, बालुवा, ढुङ्गा निकाल्ने अन्तिम म्याद रहे तापनि ठेकेदार कम्पनी तथा स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी तथा वनकर्मीको मिलेमतोमा बालुवा उत्खनन जारी छ।

स्थानीय प्रशासनलाई थाहा भएपनि नक्कली कागजातको आधारमा बालुवा उत्खनन भइरहेको देखिन्छ। प्रदेश सरकारले लकडाउनको कारण केही अवधि बढाएर असार २१ गतेसम्म गिट्टी, बालुवा निकाल्ने पाउने पत्र देखाउँदै गिट्टी, बालुवा उत्खनन भइरहेको देखिन्छ।

यस विषयमा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीले आफूले खोला उत्खनन पूर्णरूपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए। प्रदेश सरकारको पत्र स्पष्ट नभएको र अन्य जिल्लामा सो पत्रको आधारमा उत्खनन कार्य नभएको कारण आफूले पनि पर्सामा रहेका खोलाहरूमा उत्खनन रोक्न निर्देशन दिएको बताए। तर गिट्टी, बालुवा उत्खनन भइरहेको जानकारी आफूलाई आएको र स्थानीय प्रहरीलाई सो कार्य रोक्न निर्देशन दिएको बताए।

सो पत्रको आधारमा बारा जिल्लामा रहेका खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन पूर्णरूपमा बन्द रहेको र पत्रबारे आधिकारिकता खोज्ने काम भइरहेको प्रमुख अन्सारीले जानकारी गराए। प्रदेश सरकारले पठाएको पत्र जिल्ला समन्वय समितिमा नपुगी सीधैं ठेकेदारको हातमा पुगेको र ठेकेदारहरू सो पत्रको आधारमा गत बुधवार महानगरपालिका कार्यालयमा पुगेको र वीमनपा कार्यालयले भेडाहा खोलाबाट उत्खनन जारी राख्न आदेशसमेत दिएको जानकारी प्राप्त भएको छ।

महानगरपालिका राजस्व फाँटका इन्चार्ज रामदयाल यादवले पत्र लिएर ठेकेदारहरू आफूकहाँ आएका र सो विषयमा ठेकेदारहरूले प्रमुख कार्यकारी अधिकृतसँग भेटेर उत्खननको लागि पत्र लिएर गएको आफूलाई जानकारी भएको बताए।

Back to top