वीरगन्ज १३ चैत । सरकारले खाद्यान्न लगायतका उद्योग पूर्ण संचालनका लागि आह्वान गरेपनि बारा पर्सा औद्योगिक कोरिडरका अधिकांश उद्योग बन्द भएका छन् । सरकारको आह्वानपछि उद्योग संचालन गर्न खोजे पनि स्थानीय प्रशासनको असहयोगका कारण बन्द गर्नुपर्ने अवस्था आएको हो । कतिपय उद्योगमा सुरक्षा निकायले मजदुरलाई कुटपिट समेत गरेका कारण उद्योग बन्द गर्न संचालक बाध्य भएका हुन् । मन्त्रालयले खाद्यान्नका उद्योग सञ्चालन गर्न ११ गते आह्वान गरेकोमा सोही दिनदेखि यस्ता उद्योगहरू बन्द हुन थालेका हुन् ।
बारा पर्सा औद्योगिक करिडोरका अतिआवश्यक तथा खाद्यान्न सामग्री उत्पादन गर्ने उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । स्थानीय प्रहरी प्रशासनले उद्योग सञ्चालनको लागि चाहिने आवश्यक सुविधा उपलब्ध नगराउँदा औषधि, चामल, तेल, दाल, दाना र साबुनलगायत उद्योगहरू बन्द गर्ने मनस्थितिमा पुगेको वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताका छन । स्थानिय प्रशासनले चैनअफ कमान बनाएर काम गरे मात्र बारा पर्सा औद्योग संचालन गर्न सकिने नत्र आउने दिनमा केही चलिरहेको औद्योग पनि बन्द हुने गुप्ताले बताए ।
दुई दिनदेखि जारी लकडाउनले गर्दा उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थहरूको आपूर्ति प्रभावित भएको छ भने अर्कोतर्फ उद्योगबाट उत्पादित सामानहरू अन्य ठाउँमा लैजाने अवस्था नरहेकोले उद्योग चल्न समस्या भइरहेको हो । साथै प्रहरी प्रशासनले ठाउँ–ठाउँमा उद्योगमा काम गर्न आउने मजदूरहरूलाई कुटपिट गर्न थालेपछि काममा आउन डराएको उनले बताए । इलाका प्रहरी कार्यालय,जीतपुरले छातापिपरामा संचालित आरती सोप एन्ड केमिकल्स उद्योगमा काम गर्ने मोहन आचार्य, गोविन्द यादव, नथुनी सरदार र मधु गुप्तालगायत चारजना मजदूरहरूलाई कुटपिट गरी घाइते बनाएको समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष आनन्द थामीले बताए ।
श्रम कार्यालय, वीरगंजका निमित्त कार्यालय प्रमुख सुन्दर श्रेष्ठले सरकारबाट अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगहरूलाई बन्द नगर्न निर्देशन दिएपनि स्थानीय प्रहरी प्रशासनको असहयोगको कारण जेनतेन हिसाबले केही उद्योगहरूमा मात्र चलिरहेको जानकारी गराए । ’एक त अवस्था सामान्य छैन, अर्को भारतीय मजदुरहरू सबै गइसकेका छन् । उद्योगलाई चाहिने गाडी, पैसा, मजदुर, कच्चा पदार्थ र तयारी सामान ढुवानीमा प्रशासनले सहयोग गर्नुपर्छ । नत्र अवस्था जटिल बन्छ,’ उनले भने ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगको विषयमा बुधबार छलफल भएको बिहीबारदेखि मजदुर वर्ग र उद्योगको गाडी आवतजावतमा रोक नलगाउने प्रतिबद्धता पाएको बताए।
वीरगंज कोरिडरमा नेशनल हेल्थ केयर प्रालि, नेपाल फर्मास्युटिकल्स, क्वेस्ट, आर्या, युनिक, म्याग्नस, मारूती लगायत एक दर्जनभन्दा बढी औषधि उद्योग छन्। निम्बसको प्रोप्राइटर, रूगँटा समूहको ओम चाओ विरो इन्डस्ट्रिज ओसिबी फिड्स एन्ड फूड्स, केडिया समूहको सुशील वनस्पति घ्यू, ऋद्धिसिद्धि ग्रुपको अन्नपूर्ण भेजिटेबल्स एन्ड सोप, चाचान समूहको नारायणी रिफाइनरी र दाल मिल, चावो सति, शिवशक्ति रिफाइनरी लगायत उद्योगले खाद्यान्न सामग्री उत्पादन गर्दै आएका छन्।
उद्योगीका अनुसार, पर्सा, बारा, रौतहटमा संचालित करीब अढाइ सय चामल उद्योगमध्ये धेरै बन्द भइसकेका छन्। राइस मिलबाट उत्पादन हुने धानको भूस बजारमा जान नसकेर मिल बन्द हुन थालेको नेपाल चामल, तेल, दाल संघका अध्यक्ष समेत रहेका उद्योगी सुबोध गुप्ताले बताए।