×

वीरगञ्ज । प्रतिबन्धित लागूऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि मधेस प्रदेश प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी बन्दै गएको छ। अभियानअन्तर्गत नियमित निगरानी र चेकजाँचलाई तीव्रता दिइएपछि लागूऔषध सेवनकर्ता तथा कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका आठवटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइन तथा अन्य लागूऔषधको अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएपछि ठूलो परिमाणमा लागूऔषध बरामद हुनुका साथै पक्राउ पर्नेको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।

प्रहरीको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मधेस प्रदेशभर लागूऔषध सम्बन्धी २ हजार १२१ वटा मुद्दा दर्ता भएका छन् भने २ हजार ८११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २ हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक रहेका छन्।

गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रहरीले ८७१ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी नागरिक रहेका छन्। सो अवधिमा ६३० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

उक्त आर्थिक वर्षमा प्रहरीले १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, ३ किलोग्राम अफिम, २ हजार ८३१ ग्राम हिरोइन, ४ लाख ७३ हजार ४८५ वटा लागूऔषधजन्य ट्याब्लेट, २ हजार ११८ बोतल सिरफ तथा १८ हजार १२५ इन्जेक्सन बरामद गरेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८३६ जना पक्राउ परेका थिए भने ५८५ वटा मुद्दा दर्ता भएका थिए। सो अवधिमा १६ हजार ५७३ किलोग्राम गाँजा, ६१ ग्राम ब्राउन सुगर, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, २ हजार ७०५ ग्राम हिरोइन, ३ लाख ७० हजार ४४२ ट्याब्लेट, ७ हजार ५०४ बोतल सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद गरिएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले १ हजार १०४ जना पक्राउ गर्दै ७९७ वटा मुद्दा दर्ता गरेको थियो। त्यस अवधिमा ८ हजार ५३९ किलोग्राम गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलोग्राम १४६ ग्राम चरेस, १ ग्राम अफिम, १ हजार १३१ ग्राम ७ हजार १११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ ट्याब्लेट, ३ हजार ४१६ बोतल सिरफ तथा ५४ हजार ४०४ इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ।

मधेस प्रदेश प्रहरीका अनुसार खुला नेपाल–भारत सीमाको फाइदा उठाउँदै सीमावर्ती भारतीय बजारबाट लागूऔषध नेपाल भित्र्याउने र त्यसलाई राजधानी काठमाडौंलगायत विभिन्न स्थानसम्म पुर्‍याउने प्रवृत्ति बढ्दो देखिएको छ। सीमावर्ती नाकाहरूमा चेकजाँच कडा बनाएपछि युवाको साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद हुने क्रम पनि बढेको प्रहरीको भनाइ छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार लागूऔषध सेवन तथा कारोबारको आरोपमा पक्राउ पर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन्। पढाइ छोडेका, बेरोजगार तथा अभिभावकको पर्याप्त निगरानी नपाएका युवाहरू साथीभाइको प्रभावमा परेर लागूऔषधको कुलतमा फस्ने गरेको उनले बताए।

उनले पछिल्लो समय युवामात्र नभई बालबालिका, किशोरकिशोरी र महिलासमेत लागूऔषध दुव्र्यसनमा फस्न थालेको उल्लेख गर्दै यसको रोकथामका लागि अभिभावक, विद्यालय, शिक्षक र समुदाय सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए।

प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्र, औषधि पसल तथा शंकास्पद गतिविधिमाथि निगरानी थप कडा बनाइने जनाएको छ।

Back to top