×

वीरगञ्ज। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा-आराधना आजदेखि धार्मिक विधिपूर्वक सुरु हुँदै छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन (निर्जला एकादशी) घर-घरको तुलसीको मोठमा राखिएको बिउको बिरुवालाई आज मोठमा सारेर रोप्ने परम्परा छ । सनातन वैदिक धर्म संस्कृति अनुसार तुलसीलाई भगवान् विष्णुको साक्षात् प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म चार महिना तुलसीको विशेष नित्य पूजा-आराधना हुनेछ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन (शयन गर्ने) गर्नुहुने भएकाले आजको दिनलाई ‘हरिशयनी एकादशी’ भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ। भगवान् विष्णु शयन गर्ने यो चार महिनाको अवधिलाई धार्मिक रूपमा ‘चतुर्मासा’ समेत भनिन्छ ।

वर्षभरि २४ वटा एकादशी पर्ने भए पनि चतुर्मासा अवधिमा पर्ने एकादशीहरूलाई विशेष मानिन्छ। शारीरिक रूपमा सम्भव हुनेहरूले सबै एकादशीमा र नसक्नेहरूले चतुर्मासाका आठ एकादशीमा फलाहार व्रत बस्ने गर्छन् । कामकाजमा व्यस्त हुने तथा निरन्तर व्रत बस्न नसक्नेहरूले भने आज हरिशयनी एकादशी र कार्तिकमा पर्ने हरिबोधिनी एकादशीका दिन अनिवार्य रूपमा फलाहार गरी व्रत बस्ने परम्परा छ। एकादशीका दिन चामल वा अन्नबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलफूल ग्रहण गर्ने गरिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण, र शेषनारायण) लगायत देशभरका विष्णु एवं नारायण मन्दिरहरूमा दर्शनार्थीहरूको ठुलो भीड लागेको छ ।

तुलसी धार्मिक दृष्टिकोणका साथै वैज्ञानिक र आयुर्वेदिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। बढी अक्सिजन उत्सर्जन गर्ने वनस्पति तुलसीलाई विभिन्न रोगको औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएको स्थानमा विषालु कीटाणु नआउने, वास्तु दोष निवारण हुने र वातावरण शुद्ध रहने वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ ।

चार महिनासम्म दैनिक विधिपूर्वक पूजा-आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदर (विष्णु) सँग विवाह गरिदिने र अग्निस्थापना विधिबाट हवन गरी चतुर्मासा व्रतको उद्यापन गर्ने वैदिक विधान रहेको छ ।

Back to top