एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच दूरी बढिरहेका बेला अर्थमन्त्रीले भने प्रधानमन्त्रीकै निर्देशनमा काम गरिरहेको बताएका छन् ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विधिपूर्वक काम गर्न र नतिजा देखाउन आफूलाई प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएको जानकारी गराउँदै सोही अनुरुप काम गरेको बताएका हुन् ।
बिहीवार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको जानकारी गराए ।
कार्यक्रममा उनले भने–‘अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले पनि हामीलाई बारम्बार भन्नुहुन्छ– कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो छैन । नतिजा आउनुपर्छ, तपाईंहरू आफ्नो विधि र प्रक्रियाअनुसार काम गर्नुहोस् । मैले पनि यही भावना मन्त्रालयमा लागू गरेको छु ।’
सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्णतः निरुत्साहित गरिएको बताउँदै उनले भने–‘विगतमा सरुवाका लागि नेता र गुट समात्ने अभ्यासले ऊर्जा र समय नष्ट भयो । अब त्यस्तो प्रणाली अन्त्य भइसक्यो ।’
सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने बताउँदै उनले भने–‘कसैको आफन्त, नातेदार वा कुनै नेताको सिफारिसका आधारमा निर्णय हुने छैन । यदि कसैले दबाब दिन खोज्छ भने त्यसले उल्टै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ ।
मैले गरेका नियुक्तिहरू पनि योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा भएका छन् । उदाहरणका रूपमा, राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा धेरैले लबिङ गरे, तर लबिङ नगर्ने योग्य व्यक्ति नै नियुक्त हुनुभयो । यही प्रणालीलाई संस्थागत गर्न हामी लागिरहेका छौँ ।’
कर्मचारीहरूका समस्या, चुनौती र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताउँदै उनले कुनैपनि सुझाव वा समस्या भए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीकै निर्देशनमा काम गरेको बताएपनि उनीहरुबीचको सम्बन्धमा भने चिसोपना आएको प्रष्टै छ । पछिल्लो समय प्रधानमन्त्री शाहले उद्योगी, व्यवसायी, पुँजीबजारमा सरोकारवाला पक्षहरूहरुसँग छुट्टाछुट्टै भेट गरेका छन् । तर, अर्थमन्त्रीलाई उनले कहिल्यै उक्त छलफलमा राखेका छैनन् । यसले पनि प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको देखिन्छ ।