एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
रौतहट । भारत–नेपाल सीमा क्षेत्रमा अवैध सामानको ओसारपसार नियन्त्रण गरी राजस्व चुहावट रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाका इन्चार्ज विवादमा तानिएका छन्।
रौतहटको बौधीमाई नगरपालिकास्थित बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहराको नाम जोडिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको सत्यता पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीय स्तरबाट उठेको हो।
भाइरल अडियोमा तस्करीसँग सम्बन्धित व्यक्तिलाई सीमावर्ती बाटोबारे जानकारी दिइएको जस्तो सुनिन्छ। यद्यपि उक्त अडियोको आधिकारिक पुष्टि वा फरेन्सिक परीक्षण भइसकेको छैन। त्यसैले अडियोको वास्तविकता सार्वजनिक गरी, दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्नुपर्ने माग स्थानीयवासी, व्यापारी तथा सरोकारवालाहरूले गरेका छन्।
स्थानीय व्यापारीहरूका अनुसार सीमाबाट व्यक्तिगत प्रयोजनका लागि साना परिमाणमा सामान ल्याउने सर्वसाधारणमाथि कडाइ गरिए पनि संगठित तस्करीमा संलग्न समूहहरू भने सहज रूपमा सक्रिय रहेको आरोप छ। उनीहरूका अनुसार सरमुजवा, खापलगायत सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाडलगायतका सामग्री अवैध रूपमा नेपाल–भारतबीच ओसारपसार हुँदै आएको छ।
यसैबीच, जिल्ला भन्सार कार्यालय गौरको तथ्यांकले पनि तस्करी नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाएको छ। आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको थियो। सोही अवधिमा नेपाल प्रहरीले भने ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको तथ्यांक सार्वजनिक भएको छ। यसले रौतहटमा तस्करी नियन्त्रणको अवस्थाबारे थप बहस सिर्जना गरेको छ।
तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर–११ गण, पुरेनवा अन्तर्गत प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) तथा आठ वटा सशस्त्र बेस क्याम्प परिचालनमा छन्।
यति ठूलो सुरक्षा संरचना परिचालनमा हुँदाहुँदै पनि राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै स्थानीयवासीले सुरक्षा निकायको कार्यसम्पादनको निष्पक्ष समीक्षा गर्न तथा दोषी प्रमाणित हुने जोसुकैमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
यस विषयमा सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले सार्वजनिक भएको अडियोबारे आवश्यक जानकारी संकलन भइरहेको र तथ्य बुझिसकेपछि आधिकारिक प्रतिक्रिया दिइने बताएका छन्।