×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । आम जनता पार्टी (आजपा)ले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत गर्दै राइड सेयरिङ सेवा र बिजुली महसुलमा लगाइएको कर पनि खारेज गर्न सरकारसँग माग गरेको छ।

आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर हटाउने सरकारको घोषणालाई स्वागत गर्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति धन्यवाद व्यक्त गरेका छन्।

अध्यक्ष साहले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर लगाउनु आफैंमा अनुचित भएको उल्लेख गरेका छन्। आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सकारात्मक र सराहनीय कदम भएको उनको भनाइ छ।

यस्तै, अध्यक्ष साहले सरकारले राइड सेयरिङ (सवारी साझेदारी) सेवा तथा बिजुली महसुलमा लगाएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि खारेज गर्नुपर्ने माग गरेका छन्।

सरकारले हाल राइड सेयरिङ सेवा र विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लागू गरेको छ। आजपाले उक्त करले सर्वसाधारणमाथि थप आर्थिक भार परेको भन्दै यसलाई तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।

Back to top