×

वीरगञ्ज । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै भोलिदेखि २२औँ पटकको सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।

दार्चुलाबाट बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा डा. केसीले सरकारले आफ्ना मागप्रति संवेदनशीलता नदेखाएको र पटक–पटकको आग्रहका बाबजुद कुनै ठोस पहल नगरेकाले पुनः अनशन बस्न बाध्य भएको बताएका छन्।

यसअघि उनले आफ्ना माग सम्बोधनका लागि सरकारलाई साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर उक्त अवधिमा पनि मागबारे कुनै सुनुवाइ नभएपछि सत्याग्रह सुरु गर्ने निर्णय गरिएको उनको भनाइ छ।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक सेवाको क्षेत्र भएको उल्लेख गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि सरकारले त्यसको प्रभावकारी कार्यान्वयनतर्फ कुनै ठोस कदम नचालेको आरोप लगाएका छन्।

उनले चिकित्सा शिक्षा आयोग तथा विभिन्न विश्वविद्यालयहरूमा स्वार्थ बाझिने व्यक्तिहरूलाई जिम्मेवारी दिइँदै आएको आरोपसमेत लगाएका छन्। यसले चिकित्सा शिक्षा क्षेत्रको सुधार प्रक्रिया प्रभावित भएको उनको दाबी छ।

डा. केसीले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै अन्यथा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

Back to top