काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६ नरदेवी निवासी श्रेष्ठ मंगलबार बिहान आफ्नै कार लिएर कीर्तिपुर–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए। उनले खाली जग्गामा कार पार्क गरेलगत्तै कारभित्रबाट आगो लागेको देखिएको सिसिटिभी फुटेज तथा घटनास्थलको अनुसन्धानबाट उनले आफैंले आगो लगाएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।
प्रहरीले हालसम्मको अनुसन्धानमा घटनामा अन्य कुनै व्यक्तिको संलग्नता नदेखिएको जनाएको छ। आगो नियन्त्रणमा लिएपछि चालक सिटमै श्रेष्ठको शव फेला परेको थियो।
प्रहरीका अनुसार औषधि व्यवसायी रहेका श्रेष्ठ पछिल्लो समय आर्थिक समस्याका कारण मानसिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।