वीरगञ्ज । पर्साको ऐतिहासिक तथा राष्ट्रिय महत्व बोकेको वीरगञ्ज चिनी मिल तत्काल पुनः सञ्चालन गर्न माग गर्दै नागरिकस्तरबाट दबाब बढाइएको छ। ‘वीरगञ्ज चिनी मिल पुनः सञ्चालन नागरिक अभियान’ का संयोजक अफजल हुसैनले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै ७२ घण्टाभित्र ठोस पहल नगरे शान्तिपूर्ण आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्।
ज्ञापनपत्रमा वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी मिलका कारण स्थानीय किसान, मजदुर, व्यवसायी तथा समग्र अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गरिएको छ। मिल बन्द भएपछि हजारौँ परिवारले रोजगारी गुमाएको र कृषि तथा औद्योगिक गतिविधिसमेत प्रभावित भएको अभियानको भनाइ छ।
अभियानले सम्बन्धित निकायहरूमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै ठोस निर्णय वा कार्यान्वयन नभएको उल्लेख गर्दै सरकारले तत्काल स्पष्ट कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ।
ज्ञापनपत्रमार्फत पाँच बुँदे माग अघि सारिएको छ। जसअनुसार चिनी मिल पुनः सञ्चालनसम्बन्धी स्पष्ट निर्णय तथा कार्ययोजना सार्वजनिक गर्न, आवश्यक बजेट, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउन, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी निश्चित समयसीमासहित कार्यान्वयन प्रक्रिया सुरु गर्न, मिलको वर्तमान अवस्था तथा सञ्चालनको सम्भाव्यतासम्बन्धी आधिकारिक विवरण सार्वजनिक गर्न तथा किसान, मजदुर र सरोकारवालासँग समन्वय गरी दीर्घकालीन समाधान लागू गर्न आग्रह गरिएको छ।
अभियानले आफूहरूको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक हुने स्पष्ट गर्दै ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र सम्बन्धित निकायबाट ठोस पहल, लिखित प्रतिबद्धता वा कार्यान्वयन प्रक्रिया सुरु नभए ‘वीरगञ्ज चिनी मिल पुनः सञ्चालन नागरिक अभियान’ को तर्फबाट शान्तिपूर्ण आमरण अनशन सुरु गरिने चेतावनी दिएको छ।
अभियानका अनुसार यो आन्दोलन कुनै व्यक्ति, संस्था वा राजनीतिक दलविरुद्ध नभई वीरगञ्ज चिनी मिलको पुनः सञ्चालन, स्थानीय उद्योगको पुनर्जीवन, किसानको हित संरक्षण, रोजगारी सिर्जना तथा जनहितका लागि गरिएको नागरिक पहल हो।