×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। वीरगञ्जस्थित साउथ सिटी हस्पिटलमा गर्भावस्थाको करिब साढे सात महिनामै गम्भीर स्वास्थ्य जटिलता देखिएकी बौधीमाई नगरपालिका–५, कोपवाकी २५ वर्षीया पुष्पा कुमारीको आकस्मिक सिजेरियन  (आपतकालीन सिजेरियन शल्यक्रिया) गरी सफलतापूर्वक प्रसूति गराइएको छ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादवको परीक्षण तथा परामर्शपछि बिरामीलाई असार ३० गते अस्पतालमा भर्ना गरिएको थियो। आवश्यक उपचार र शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि उनलाई साउन ५ गते अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार गर्भावस्थाको ३२ हप्ता ६ दिन पुगेको अवस्थामा बिरामीमा इक्ल्याम्पसिया (एक्लाम्पसिया) अर्थात् अत्यधिक उच्च रक्तचापका कारण दौरा पर्ने गम्भीर समस्या देखिएको थियो। साथै HELLP Syndrome का कारण रगतका रातो रक्तकोषमा क्षति पुग्ने, कलेजोको कार्यक्षमता प्रभावित हुने तथा प्लेटलेट्सको मात्रा घट्ने जटिल अवस्था पनि पुष्टि भएको थियो।

त्यसैगरी, पाठेघरभित्र बच्चा रहेको झिल्ली र एम्नियोटिक तरलमा संक्रमण हुने कोरियोएम्नियोनाइटिस तथा अत्यधिक रक्तचापका कारण मस्तिष्कमा अस्थायी असर पर्ने पछाडिको रिभर्सिबल एन्सेफालोपेथी सिन्ड्रोम (PRES)  समेत देखिएको अस्पतालले जनाएको छ।

यी सबै गम्भीर अवस्थाका कारण आमा र गर्भस्थ शिशु दुवैको ज्यान जोखिममा पर्न सक्ने भएकाले चिकित्सकको टोलीले तत्काल आकस्मिक सिजेरियन (आपतकालीन सिजेरियन शल्यक्रिया) गर्ने निर्णय गरेको थियो। समयमै शल्यक्रिया र सघन उपचार गरिएकाले आमा सुरक्षित रहेको र उपचारपश्चात् स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ।

डा. प्रीति यादवले गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण गराउने, रक्तचापको निरन्तर निगरानी गर्ने तथा टाउको अत्यधिक दुख्ने, आँखामा धमिलो देखिने, शरीर धेरै सुन्निने वा दौरा पर्ने जस्ता असामान्य लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुग्न सबै गर्भवती महिलालाई आग्रह गरेकी छन्।*

Back to top