×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले प्रशोधन नगरी रासायनिकयुक्त फोहोर पानी सिर्सिया नदीमा मिसाइरहेको विषयमा संघीय संसदमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले सदियौँदेखि वीरगञ्ज हुँदै बग्ने ऐतिहासिक सिर्सिया नदी उद्योगहरूबाट निस्कने विषाक्त रासायनिक फोहोरका कारण दुर्गन्धित नालामा परिणत भएको गम्भीर ध्यानाकर्षण गराएका थिए । उनले उद्योगहरूको लापरबाही तथा सम्बन्धित सरकारी निकायको बेवास्ताका कारण नदीको प्राकृतिक स्वरूप र अस्तित्व नै संकटमा परेको उल्लेख गर्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका थिए ।

सिर्सिया नदी प्रदूषणको विषयमा स्थानीय बासिन्दाले लामो समयदेखि गुनासो गर्दै आएका थिए। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगहरूलाई वातावरणीय मापदण्ड पालना गर्न करिब एक महिनाको समय दिँदै सूचना जारी गरेको थियो।

यस अवधिमा वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहोरपानीको नमुना संकलन गरेको थियो। प्रयोगशाला परीक्षणबाट १० उद्योगले सरकारले तोकेको वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती उद्योगलाई प्रति उद्योग १० लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको मन्त्रालयको सचिवालयले जनाएको छ।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारबाहीमा परेका उद्योगमध्ये मधेश प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने ६ उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ बमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।

त्यसैगरी सिर्सिया नदी आसपास रहेका अन्य उद्योगहरूको निरीक्षण अझै बाँकी रहेकाले वातावरण विभाग, उद्योग विभाग, प्रदेश सरकार मातहतका सम्बन्धित निकाय तथा स्थानीय तहको संयुक्त प्राविधिक टोलीमार्फत थप अनुगमन गरी आवश्यक कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ बमोजिम तेब्बर जरिवाना लाग्ने व्यवस्था रहेको छ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि प्रशोधन नगरी रसायनयुक्त फोहोर पानी सिर्सिया नदीमा मिसाइँदै आएकाले नदी अत्यधिक प्रदूषित बन्दै गएको छ। नदीको पानी दूषित हुँदा आसपासका बासिन्दाले दुर्गन्ध, विभिन्न स्वास्थ्य समस्या, खेतीपातीमा नोक्सानी तथा पशुचौपायामा समेत प्रतिकूल असर भोग्दै आएका छन्। स्थानीयले लामो समयदेखि उद्योगहरूले प्रशोधन नगरी फोहोर पानी नदीमा नहाल्न र प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गर्दै आएका छन्।

Back to top