×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

रौतहट। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुर, वडाध्यक्ष धर्मेन्द्रकुमार झा, वडा सचिव उमेश चौधरीसहित ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म ज्येष्ठ नागरिक, एकल महिला तथा विधवा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा कानुनी रूपमा अयोग्य व्यक्तिहरूलाई लाभग्राही कायम गरिएको थियो। अनुसन्धानका क्रममा आवश्यक कागजातबिनै लाभग्राही बनाइएको, सरकारी अभिलेखमा झूटा विवरण प्रविष्ट गरिएको, एउटै व्यक्तिलाई फरक–फरक नाममा भत्ता वितरण गरिएको, उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता तथा पति जीवित रहेका महिलालाई एकल महिला तथा विधवा भत्ता उपलब्ध गराइएको तथ्य खुलेको आयोगले जनाएको छ।

अख्तियारका अनुसार सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा समेत झूटा विवरण अद्यावधिक गरी सङ्गठित मिलेमतोमा ३२ लाख २३ हजार ८२१ रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरिएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न कसूरमा पर्ने ठहर गर्दै आयोगले संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालतमा अभियोग दायर गरेको हो।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरविरुद्ध २९ लाख ४३ हजार ८२१ रुपैयाँ बिगो कायम गर्दै कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरेको छ। त्यसैगरी, वडाध्यक्ष धर्मेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरीविरुद्ध ३२ लाख २३ हजार ८२१ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ।

यसका अतिरिक्त गैरकानुनी रूपमा सामाजिक सुरक्षा भत्ता लिएको आरोप लागेका अन्य व्यक्तिहरूविरुद्ध पनि बिगोअनुसार कैद, जरिवाना र रकम असुलउपरको माग गरिएको आयोगले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितताले सार्वजनिक स्रोतको दुरुपयोग, अभिलेख व्यवस्थापनमा लापरबाही तथा सरकारी प्रणालीको दुरुपयोग भएको देखिएको आयोगको निष्कर्ष छ। आयोगले यस्ता भ्रष्टाचारजन्य गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Back to top