वीरगञ्ज। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यावसायिक विस्तार तथा आफ्नै कार्यालय भवन निर्माणको उद्देश्यसहित वीरगञ्जमा ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ लागतमा जग्गा खरिद गरेको छ।
कम्पनीले पर्साको वीरगञ्ज महानगरपालिका–४ मा रहेको ८७.५३ धुर (करिब १,४८२ वर्गमिटर) क्षेत्रफलको जग्गा ३२ करोड रुपैयाँमा खरिद गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीका अनुसार जग्गा खरिद मूल्यबाहेक रजिस्ट्रेसन तथा नामसारी सेवा शुल्कबापत थप १ करोड ७७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। यससँगै जग्गा प्राप्तिको कुल लागत ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पुगेको उनले जानकारी दिए।
नेपाल लाइफले होटल मकालु प्रालिको स्वामित्वमा रहेको उक्त जग्गा खरिद गरेको हो। कम्पनीका अनुसार खरिद गरिएको जग्गा वीरगञ्ज महानगरपालिका–४ अन्तर्गत कित्ता नम्बर २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ मा अवस्थित छ।
कम्पनीले आफ्नो सेवा थप व्यवस्थित, आधुनिक र सेवाग्राहीमैत्री बनाउने दीर्घकालीन योजनाअनुसार रणनीतिक महत्वको स्थानमा जग्गा खरिद गरिएको जनाएको छ। भविष्यमा आफ्नै अत्याधुनिक कार्यालय भवन निर्माण गरी मधेश प्रदेशका सेवाग्राहीलाई थप सहज र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ।