×

वीरगञ्ज । प्रेमिकालाई आफू भएको स्थानमा बोलाइदिन र विवाह गराइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकको सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए । उनले बिहान करिब ४ बजे एक साथीसँग फोन सम्पर्क गरी आफू टावरमाथि रहेको जानकारी गराएपछि घटनाबारे सुरक्षा निकायलाई खबर पुगेको थियो ।

टावरमा चढेका हुसैनले आफ्नी प्रेमिकालाई सोही स्थानमा नबोलाए हामफाल्ने चेतावनी दिइरहेका थिए । उनी सर्लाही क्याम्पसमा बिबिए अध्ययनरत रहेको र सोही कलेजमा अध्ययनरत एक युवतीसँग प्रेम सम्बन्ध रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारमा खटिएको थियो । सुरक्षाकर्मीले तलबाट फोन तथा अन्य माध्यमबाट सम्झाइ–बुझाइ गर्दै सुरक्षित रूपमा तल झार्ने प्रयास गरेका थिए ।

प्रहरीले हुसैनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएर टेलिफोनमार्फत कुराकानी गराएपछि उनी अन्ततः टावरबाट तल ओर्लिएका हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हुसैन रातिको समयमा नै टावरमा चढेको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Back to top