×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको नयाँ कर व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। अब मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकले विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सरकारले लागू गरेको नयाँ कानुनी व्यवस्थाअनुसार आफ्नो केन्द्रीय बिलिङ प्रणाली पूर्ण रूपमा अद्यावधिक गरी साउन महिनादेखिको विद्युत् बिलमा नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक विधेयकमार्फत आन्तरिक राजस्व वृद्धि गर्ने उद्देश्यले ऊर्जा क्षेत्रमा नयाँ कर व्यवस्था लागू गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार साउन १ गतेदेखि नयाँ महसुल प्रणाली कार्यान्वयनमा आएको हो।

प्राधिकरणका अनुसार मासिक पहिलो ५० युनिटसम्मको विद्युत् खपतमा कुनै पनि भ्याट लाग्ने छैन। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् प्रयोग गर्ने घरायसी ग्राहकको हकमा ५० युनिटभन्दा माथिको महसुल रकममा ५ प्रतिशतका दरले भ्याट थपिनेछ।

नयाँ व्यवस्थाले न्यून आय भएका तथा सीमित मात्रामा विद्युत् प्रयोग गर्ने ग्रामीण तथा साना घरायसी उपभोक्तालाई कुनै अतिरिक्त आर्थिक भार नपर्ने प्राधिकरणले जनाएको छ। मासिक ५० युनिट वा सोभन्दा कम विद्युत् खपत गर्ने ग्राहकहरू यस कर व्यवस्थाबाट पूर्ण रूपमा मुक्त रहनेछन्।

नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार देशभर ३० लाखभन्दा बढी घरायसी ग्राहकले मासिक ५० युनिटसम्म मात्रै विद्युत् खपत गर्ने गरेका छन्। ती ग्राहकहरूले साविककै महसुल दरअनुसार बिल भुक्तानी गर्न पाउने भएकाले अधिकांश उपभोक्तामा नयाँ व्यवस्थाको प्रत्यक्ष प्रभाव नपर्ने बताइएको छ।

यद्यपि सहरी क्षेत्रमा बसोबास गर्ने तथा विद्युतीय उपकरणको बढी प्रयोग गर्ने मध्यम तथा उच्च आय वर्गका घरायसी ग्राहकले भने नयाँ भ्याट व्यवस्थाको प्रत्यक्ष असर व्यहोर्नुपर्नेछ। प्राधिकरणले ग्राहकलाई आफ्नो मासिक विद्युत् खपतको आधारमा नयाँ महसुल बुझाउन आग्रह गरेको छ।

Back to top