×

मनसुनसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका घटनाहरू बढिरहेका छन्। प्रत्येक वर्ष प्राकृतिक विपद्का कारण सयौं नागरिक प्रभावित हुने, जनधनको ठूलो क्षति हुने तथा विकासका पूर्वाधारमा असर पुग्ने गरेको छ। यस्ता विपद्का बेला प्रभावकारी व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच स्पष्ट जिम्मेवारी, समन्वय र शीघ्र कार्यसम्पादन आवश्यक हुन्छ ।

स्थानीय सरकारले गर्नुपर्ने काम

विपद् व्यवस्थापनमा स्थानीय सरकार पहिलो जिम्मेवार निकाय हो बाढी वा पहिरोको जोखिम देखिन ेबित्तिकै स्थानीय तहले प्रभावित क्षेत्रका नागरिकलाई समयमै सूचना प्रवाह गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नुपर्छ । प्रत्येक वडामा विपद् व्यवस्थापन समिति सक्रिय राखी उद्धार टोली, स्वयंसेवक र आवश्यक उपकरण तयारी अवस्थामा राख्नुपर्छ ।स्थानीय सरकारले सुरक्षित आश्रयस्थलको व्यवस्था, खानेपानी, खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा तथा सरसफाइका सामग्री उपलब्ध गराउनुपर्छ । राहत वितरण पारदर्शी र आवश्यकताका आधारमा हुनुपर्छ । साथै क्षतिको यथार्थ विवरण संकलन गरी प्रदेश र संघीय सरकारलाई समयमै जानकारी गराउनु आवश्यक हुन्छ ।
प्रदेश सरकारले गर्नुपर्ने काम

प्रदेश सरकारले स्थानीय तहलाई आवश्यक जनशक्ति, स्रोत र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ । प्रदेशस्तरमा आपत्कालीन सञ्चालन केन्द्रलाई २४सै घण्टा सक्रिय राखी प्रभावित जिल्लाहरूबीच समन्वय गर्नुपर्छ ।

बाढी र पहिरोले सडक अवरुद्ध भए तत्काल हेभी मेसिन परिचालन गरी सडक सञ्चालनमा ल्याउनुपर्छ । प्रदेश सरकारले अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा, औषधि, चिकित्सक र एम्बुलेन्सको व्यवस्था मिलाउनुका साथै राहत सामग्रीको पर्याप्त भण्डारण र वितरण सुनिश्चित गर्नुपर्छ ।

संघीय सरकारले गर्नुपर्ने काम

संघीय सरकारले राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनको नेतृत्व गर्दै सबै निकायबीच प्रभावकारी समन्वय गर्नुपर्छ । आवश्यक परे नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा अन्य उद्धार टोलीलाई तत्काल परिचालन गर्नुपर्छ। हेलिकोप्टरमार्फत दुर्गम क्षेत्रमा उद्धार तथा राहत पु¥याउने व्यवस्था मिलाउनु आवश्यक हुन्छ ।

संघीय सरकारले पर्याप्त राहत कोषको व्यवस्था, पुनर्निर्माणका लागि विशेष बजेट, प्रभावित नागरिकलाई राहत तथा क्षतिपूर्ति वितरण र आवश्यक परे अन्तर्राष्ट्रिय सहयोगको समन्वय गर्नुपर्छ। साथै मौसम पूर्वानुमान प्रणाली, बाढी पूर्वसूचना प्रणाली तथा नदी निगरानीलाई थप प्रभावकारी बनाउँदै जोखिम न्यूनीकरणका दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्छ । 
दीर्घकालीन तयारीमा जोड

विज्ञहरूका अनुसार विपद् आएपछि मात्र सक्रिय हुने होइन, विपद् आउनुअघि नै तयारी गर्नु सबैभन्दा प्रभावकारी उपाय ह ो। जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानमा पुनःस्थापना, नदी नियन्त्रण, भू–उपयोग योजना, जनचेतना कार्यक्रम, विद्यालय तथा समुदायमा विपद् अभ्यास, सुरक्षित पूर्वाधार निर्माण र आधुनिक पूर्वसूचना प्रणालीमा लगानी बढाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ ।

निष्कर्ष

बाढी र पहिरो प्राकृतिक विपद् भए पनि समयमै तयारी, प्रभावकारी समन्वय र जिम्मेवार कार्यसम्पादनबाट त्यसको क्षति धेरै हदसम्म कम गर्न सकिन्छ । स्थानीय सरकारले तत्काल उद्धार र राहतमा, प्रदेश सरकारले स्रोत परिचालन र समन्वयमा तथा संघीय सरकारले नीति, सुरक्षा, बजेट र पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गरे मात्र विपद् व्यवस्थापन प्रभावकारी बन्न सक्छ। प्राकृतिक विपद्सँग जुध्न तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज र स्थानीय समुदायबीचको सहकार्य नै सफलताको प्रमुख आधार हो।

Back to top