एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्र शाहले गरेको भन्ने प्रचारमा सत्यता नरहेको दाबी गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डलगत्तै पूर्वतयारीका साथ एउटा ‘रेडिमेड कथा’ विश्वभर फैलाइएको बताएका हुन्।
उनले युवराज दीपेन्द्रले आफ्ना बुबा राजा वीरेन्द्र, आमा रानी ऐश्वर्य, भाइ, बहिनी तथा अन्य शाही परिवारका सदस्यहरूको हत्या गरी आफूले पनि आत्महत्या गरेको भन्ने कथा योजनाबद्ध रूपमा प्रचार गरिएको दाबी गरे।
‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। त्यसलगत्तै विश्वव्यापी रूपमा एउटा रेडिमेड कथा फैलाइयो। युवराज दीपेन्द्रले आफ्नै परिवारको वंशनाश गरेर आत्महत्या गरे भन्ने प्रचार गरियो,’ ओलीले भने।
प्रधानमन्त्री ओलीका अनुसार दुई दशकभन्दा बढी समय बितिसक्दा पनि त्यही कथाले जनमानसमा प्रभाव जमाइरहेको छ। उनले घटनाको वास्तविकता अझै सार्वजनिक नभएको र उक्त कथाको रचनाकार तथा त्यसलाई विश्वभर फैलाउने व्यक्ति वा समूहबारे पनि स्पष्ट जानकारी नभएको बताए।
ओलीले प्रेम सम्बन्ध असफल भएका कारण युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गराएको भन्ने कथा पनि षड्यन्त्रमा संलग्न पक्षहरूले निर्माण गरेको दाबी गरे। उनले घटनाबारे गम्भीर अध्ययन र सत्यतथ्यको खोजी आवश्यक रहेको उल्लेख गर्दै अहिलेसम्म सार्वजनिक रूपमा स्वीकारिएको विवरणमाथि प्रश्न उठाए।