एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । पर्सा जिल्लाको उत्तरी भेगमा रहेको जीतपुरदेखि पश्चिम ठोरीसम्म जोड्ने मुख्य सडकका रूपमा परिचित जनता सडक अन्तर्गत पर्सागढी नगरपालिका–३ स्थित फन्टी खोलामा पुल नहुँदा स्थानीय बासिन्दाले प्रत्येक वर्ष वर्षायाममा सास्ती भोग्न बाध्य भएका छन्। वर्षा शुरू भएसँगै खोलामा आउने बाढीका कारण सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
खोलामा पानीको बहाव बढेपछि जनता सडक पूर्ण रूपमा अवरुद्ध हुने गरेको स्थानीयहरू बताउँछन्। यसका कारण पूर्वदेखि पश्चिम ठोरीसम्म आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी तथा व्यापारीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। सडक बन्द भएपछि यात्रुहरू जोखिम मोलेर खोला पार गर्न बाध्य हुने अवस्था सिर्जना हुने गरेको छ।
स्थानीयका अनुसार कतिपय सवारी चालकले जोखिमपूर्ण रूपमा खोला पार गर्ने प्रयास गर्दा सवारीसाधनको इन्जिनमा पानी पस्ने र ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था आउने गरेको छ। त्यस्तै पैदल यात्रु तथा मोटरसाइकल चालकहरू बग्ने, लड्ने र घाइते हुने घटना पनि पटक–पटक दोहोरिने गरेको उनीहरूको भनाइ छ।
खोला पार गर्न नसकिने अवस्थामा यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। वैकल्पिक बाटो प्रयोग गर्दा एक किलोमिटरभन्दा बढी दूरी घुम्नुपर्ने भएकाले समय, श्रम र खर्चसमेत बढ्ने गरेको छ। यसले स्थानीय जनजीवनसँगै दैनिक आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्दै आएको स्थानीयको गुनासो छ।
स्थानीय बासिन्दाले फन्टी खोलामा स्थायी पुल निर्माणको माग गर्दै पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म स्थानीय, प्रदेश वा सङ्घीय सरकारबाट कुनै ठोस पहल हुन नसकेको बताएका छन्।
स्थानीयवासीले बर्सेनि दोहोरिने यो समस्या समाधानका लागि फन्टी खोलामा यथाशीघ्र स्थायी पुल निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। पुल निर्माण भएमा जनता सडक वर्षभरि सहज रूपमा सञ्चालन हुने र स्थानीयको आवतजावतसँगै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।