एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
बारा । न्याय परिषद्को निर्णयअनुसार बारा जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ भने उनीहरूको स्थानमा अन्य जिल्ला अदालतबाट पाँच जना नयाँ न्यायाधीशको पदस्थापन गरिएको छ।
न्याय परिषद्को बिहीबार बसेको बैठकले देशभरका उच्च तथा जिल्ला अदालतमा कार्यरत २०७ जना न्यायाधीशको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। परिषद्का अनुसार ५० जना उच्च अदालत र १५७ जना जिल्ला अदालतका न्यायाधीशको सरुवा गरिएको छ।
निर्णयअनुसार बारा जिल्ला अदालतबाट न्यायाधीश यज्ञप्रसाद आचार्य कास्की जिल्ला अदालत, सुरेशराज खनाल मोरङ जिल्ला अदालत, नरेन्द्रबहादुर बुढा काठमाडौं जिल्ला अदालत, अञ्जनराज सापकोटा काठमाडौं जिल्ला अदालत तथा दीक्षा प्रधानाङ्ग मकवानपुर जिल्ला अदालतमा सरुवा भएका छन्।
यस्तै, बारा जिल्ला अदालतमा भक्तपुर जिल्ला अदालतबाट विश्वनाथ भट्टराई, मकवानपुर जिल्ला अदालतबाट गीता श्रेष्ठ, जुम्ला जिल्ला अदालतबाट आनन्दराज पन्त, कास्की जिल्ला अदालतबाट नीतिज राई तथा काठमाडौं जिल्ला अदालतबाट नारदप्रसाद भट्टराईको पदस्थापन गरिएको न्याय परिषद्ले जनाएको छ।
न्यायाधीशहरूको सरुवासँगै न्याय परिषद्ले श्रम अदालत, विशेष अदालत तथा राजस्व न्यायाधिकरणका अध्यक्ष र कानून सदस्यहरूको जिम्मेवारीसमेत तोकेको छ।
यसपटकको सरुवामा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीलगायत विभिन्न जिल्लाका अदालतमा कार्यरत न्यायाधीशहरू समेटिएका छन्। परिषद्को निर्णयसँगै सम्बन्धित अदालतहरूमा नयाँ जिम्मेवारी कार्यान्वयनमा आउने जनाइएको छ।