एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।
संसद् सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदहरूले आफ्नो सम्पत्ति विवरण अद्यावधिक गरी पेस गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म सांसदहरूले आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको स्रोत खुल्ने प्रमाणसहितको विवरण सचिवालयमा बुझाउनुपर्नेछ।
कानुनी व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ। यसमा चल तथा अचल सम्पत्तिको विवरण, त्यसको स्रोत तथा आवश्यक प्रमाणसमेत समावेश गर्नुपर्ने हुन्छ।
संसद् सचिवालयले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने सांसदमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको भन्दै समयसीमाभित्रै विवरण पेस गर्न सबै सदस्यलाई आग्रह गरेको छ।
सम्पत्ति विवरण बुझाउने व्यवस्था सार्वजनिक पदमा रहेका व्यक्तिको आर्थिक पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले लागू गरिएको कानुनी प्रावधानअन्तर्गत रहेको सचिवालयले जनाएको छ।