×

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका तीन जना चिकित्सकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट पुष्पश्री स्वर्ण पदक प्राप्त गरेका छन् ।

स्वर्ण पदक प्राप्त गर्ने चिकित्सकहरूमा डा. आयुष्मा ढुङ्गाना (माइक्रोबायोलोजी), डा. दीपेन्द्र थापा (ईएनटी) र डा. ज्योति खिरहरी (एमडीजीपी) रहेका छन् । सम्बन्धित विषयमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेबापत उनीहरूलाई प्रतिष्ठित पुष्पश्री स्वर्ण पदकबाट सम्मान गरिएको हो ।

तीनै चिकित्सकको उपलब्धिलाई नेशनल मेडिकल कलेजका लागि अत्यन्त गौरवपूर्ण क्षणका रूपमा हेरिएको छ । उनीहरूको अथक मेहनत, समर्पण र लगनशीलताले राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गर्नु संस्थाका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि प्रेरणादायी बनेको कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले बताए ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्थापना कालदेखि नै गुणस्तरीय चिकित्सा शिक्षा, दक्ष तथा अनुभवी प्राध्यापकको मार्गदर्शन, आधुनिक प्रयोगशाला, अनुसन्धानमुखी अध्ययन र व्यावहारिक प्रशिक्षणलाई प्राथमिकता दिँदै आएको छ । चिकित्सा शिक्षासँगै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले दक्ष र सेवामुखी चिकित्सक उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

कलेजका अनुसार यस प्रकारका उपलब्धिले संस्थाको शैक्षिक उत्कृष्टता, अनुसन्धानप्रतिको प्रतिबद्धता तथा चिकित्सा क्षेत्रमा योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई थप मजबुत बनाएको छ । साथै, यस्ता सफलताले भावी चिकित्सकहरूलाई पनि उत्कृष्टता हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

नेशनल मेडिकल कलेज परिवारले स्वर्ण पदक विजेता तीनै चिकित्सकलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको आगामी व्यावसायिक यात्रा अझ सफल, उपलब्धिमूलक र सेवामुखी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ । कलेजले भविष्यमा पनि गुणस्तरीय चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्ट पहिचानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

Back to top