एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भत्किएपनि मधेश प्रदेश सरकारमा त्यसको प्रभाव देखिएको छैन् ।
सत्तासिन तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी-नेकपा)का प्रदेश नेताहरुबीच सत्ता गठबन्धनलाई निरन्तरता दिने बिहिवार अपरान्ह सहमति भएको छ । मुख्यमन्त्री कृष्णा यादवको निवासमा एमाले दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव र नेकपा दलका नेता समेत रहेका अर्थमन्त्री युवराज भट्टराई सहितको बैठकले मधेश प्रदेशमा तीन दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । मधेश प्रदेशमा गठबन्धनलाई निरन्तरता दिन नहुने दवाव कांग्रेसको केन्द्रिय तहमा छ ।तर दलका नेताहरुले प्रदेश स्तरमा बैठकगरि सरकारलाई निरन्तरता दिने सहमति भएको तीनै दलका नेताहरुले जनाएका छन् ।
एमाले दलका नेता सरोज कुमार यादवले तीन दलबीच सत्ता समिकरणलाई निरन्तरता दिने सहमति भएको जनाउ केन्द्रिय नेताहरुलाई दिइसकेको बताएका छन् । ‘अन्य प्रदेशमा गठबन्धन भत्किएपनि मधेश प्रदेशमा निरन्तरता दिने कारण सहित केन्द्रिय नेताहरुलाई जानकारी दिएको र्छ उनले भने, एमालेका नेताहरु गठबन्धनलाई निरन्तरता दिने सहमतिलाई सकारात्मक भनेका छन् । मधेश प्रदेशमा सत्तागठबन्धनलाई निरन्तरता दिन गरिएको निर्णयप्रति सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली सांसद सरोज यादवले असहमति जनाएका छन् ।‘६ वटा प्रदेशमा एमालेसितको गठबन्धन भत्किने तर मधेश प्रदेशमा रहने सबाल नै हुँदैन् ’उनले भने, दलको बैठक बिना नै नेताले मात्र निर्णय गरेर हुँदैन् । नेकपा एमालेसित सहकार्य गर्ने पक्षमा नेपाली कांग्रेस नरहेको उनले प्रष्ट गरे ।
कुनै नेताले आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीलाई प्रयोगगर्न नसक्ने यादवले बताए । ‘सातवटै प्रदेशमा एमालेसित गठबन्धन कायम रहे मात्र मधेश प्रदेशमा कायम रहनेछ’ सांसद यादवले भने, तर अन्य प्रदेशहरुमा गठबन्धन नरहे मधेश प्रदेशमा संभव छैन् ।गठबन्धन रहने अथवा नरहने निर्णय केन्द्रिय नेताहरुले लिने उनले बताए । ‘मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेपछि प्रदेशमा पार्टीलाई ठूलो क्षति भएको छ’ उनले भने, भ्रष्टाचार, कमिसनका लागि मात्र सरकारमा रहँदा पार्टीले थप क्षति ब्यहोर्नुपर्ने छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामपल्टन साहले एमालेसितको सहकार्य नटिक्ने बताएका छन् ।‘ एमालेसितको सहकार्य कुनैपनि प्रदेशमा अब हुन सक्दैन्’ उनले भने, मधेश प्रदेशमापनि एमालेसित सरकारमा रहनु भन्दा विपक्षमा नै रहन उपयुक्त हुनेछ ।
कांग्रेसका शीर्ष नेतृत्वको तहमा एमालेसित प्रदेश सत्तामा सहकार्य नगर्ने सहमति भइसकेको उनले बताए ।प्रदेशको निर्णयले गठबन्धन अगाडी नबढने उनले प्रष्टयाए । नेपाली कांग्रेसले एमालेसितको सहकार्यमा ठूलो क्षति ब्यहोरेको नेताहरुले बताउँदै आएका छन् ।उनीहरुले एमालेसित सहकार्य नगरि संगठनलाई सुदृढ बनाउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । सुदुर पश्चिम प्रदेशमा नेकाँ नेतृत्वको सरकारलाई एमालेले बजेट पास गर्न असहयोग गरेपछि कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरुले राजिनामा गरिसकेका छन् ।सुदुरपश्चिममा मुख्यमन्त्रीले एमालेका मन्त्रिहरुलाई बुधवार नै बर्खास्त गरिसकेका छन् ।कोशी प्रदेशका कांग्रेसका सांसदहरुले गठबन्धनको विषयमा छलफल गरेका छन् ।तर उनीहरुले गरेको निर्णयबारे केन्द्रिय नेताहरुले कुनै धारणा सार्वजनिक गरेका छैनन् । उच्चस्रोतहरुका अनुसार कांग्रेसका सभापति गगन कुमार थापा र एमालेका नेताहरुबीच विहिवारपनि छलफल भएको छ ।तर गठबन्धनलाई कायम राख्ने विषयमा सहमति हुन नसकेको स्रोतले जनाएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।एमालेबाट मुख्यमन्त्री बनेका कँडेल बिरुद्ध नेकपाका ११ जना, कांग्रेसका ५ जना र एकजना रामकुमार शर्मा समेतले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि कांग्रेसलाई फिर्ता हुन समस्या देखिएको छ ।नेकपाले सुदुर पश्चिममा कांग्रेसलाई समर्थन दिने संकेत गरेसँगै कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशको विवादलाई अन्य प्रदेशमा नल्याउन कांग्रेस र एमालेका सांसदहरुले शीर्ष नेताहरुमाथि दवाव दिन थालेका छन् ।बागमती प्रदेशमा भने एमालेका मन्त्रीहरुले दिने राजिनामा रोकिएको छ । स्रोतहरुका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बागमती प्रदेशमा मन्त्रीहरुको राजिनामा रोकिएको छ ।
बागमतीमा एमालेका ६ जना मन्त्री छन् ।मुख्यमन्त्री कांग्रेसका छन् । एमालेबाट स्वास्थ्य मन्त्री रहेका किरण थापा मगरले जनाए अनुसार केन्द्रिय निर्देशन बमोजिम हाललाई राजिनामा रोकिएको छ । ‘हामी राजिनामा दिने तयारी गरिसकेका थियौं’ उनले भने, तर पार्टी अध्यक्षले हाल राजिनामा नगर्न निर्देशन दिएकाले तत्काल रोकिएको छ । एमालेबाट थापा सहित मधुसुदन पौडेल, दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी र बिन्दु श्रेष्ठ सरकारमा रहेका छन् ।