×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) अनुसन्धानको क्रममा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा पनि अनुसन्धानको दायरामा तानिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार भट्टको हित नियन्त्रणमा रहेको हिमलायन एसेट म्यानेजमेन्ट प्रालिबाट जयवीर देउवाको लगानी रहेका दुई कम्पनी स्कलर इन्टरनेसनल र डिजी हबमा कुल २ करोड ६० लाख रुपैयाँ भुक्तानी गरिएको भेटिएको छ।

विभागले उक्त रकमको स्रोत, कारोबारको उद्देश्य तथा कानुनी वैधताबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। व्यवसायी दीपक भट्टसँग सम्बन्धित आर्थिक कारोबारको अनुसन्धानकै क्रममा जयवीर देउवाको नाम पनि जोडिएको विभागको भनाइ छ।

यसैबीच, विभागले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर गर्ने क्रममा जयवीर देउवासमेत अनुसन्धानको दायरामा रहेको जानकारी दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि नै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवामाथि पनि अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

उक्त प्रकरणमा संलग्न व्यक्तिहरूको आर्थिक कारोबार, रकमको स्रोत तथा सम्भावित कानुनी उल्लङ्घनबारे विभागले थप अनुसन्धान जारी राखेको जनाएको छ।

Back to top