×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड (९) बमोजिम ती कर्मचारीलाई सेवाबाट किन नहटाउने भन्ने विषयमा १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित कर्मचारीले चित्तबुझ्दो कारणसहितको सफाइ पेस गर्न नसके नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७२ को खण्ड (ख) उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारबाही गरिने चेतावनी दिइएको छ।

स्पष्टीकरण माग गरिएका कर्मचारीहरू वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (भक्तपुर), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), कान्ति बाल अस्पताल (महाराजगञ्ज) तथा आयुर्वेद चिकित्सालय (नरदेवी) लगायतका स्वास्थ्य संस्थामा कार्यरत रहेका छन्।

कारबाहीको सूचीमा नवौँ तहका रेडियोलोजिस्ट डा. अमित रौनियार र पेडियाट्रिक सर्जन डा. मृदुल प्रसाद जोशी समेत रहेका छन्। यसबाहेक विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा स्टाफ नर्सहरू पनि समावेश छन्।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक स्पष्टीकरण पेस गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभए प्रचलित कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

Back to top