×

रौतहट । सरकारले उपलब्ध गराएको ७ करोड रुपैयाँभन्दा बढी उखु अनुदान वितरणमा ढिलाइ भएपछि रौतहटका उखु किसान आन्दोलनमा उत्रिएका छन्। अनुदान रकम समयमै वितरण नभए बजेट नै फ्रिज हुने जोखिम बढेको भन्दै किसानहरूले जिल्ला प्रशासन कार्यालयविरुद्ध प्रदर्शन चर्काएका हुन्।

किसानहरूले सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवको लापरवाही र उदासीनताका कारण सरकारबाट निकासा भएको अनुदान रकमसमेत वितरण हुन नसकेको आरोप लगाएका छन्।

नेपाल सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णयअनुसार करिब साढे चार हजार किसानका लागि ७ करोड रुपैयाँभन्दा बढी रकम जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा करिब १५ दिनअघि नै निकासा भइसकेको छ। तर अनुदान वितरणका लागि आवश्यक प्रक्रिया अघि नबढ्दा किसानहरूले अझै रकम प्राप्त गर्न सकेका छैनन्।

सरकारले सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा कृषि ज्ञान केन्द्रका प्रतिनिधि सदस्य रहने चार सदस्यीय समिति गठन गरेको छ। किसानहरूको भनाइअनुसार आवश्यक सबै कागजात बुझाइसकिएको र बजेटसमेत निकासा भइसकेको अवस्थामा समितिले रकम बैंक खातामा पठाउने प्रक्रिया अघि नबढाएको हो।

अनुदान वितरणमा भएको ढिलाइको विरोधमा उखु किसान संघ रौतहटका जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा किसानहरूले बुधबार राति जिल्ला प्रशासन कार्यालय गौरमा राति १० बजेसम्म धर्ना दिएका थिए। त्यसपछि गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत झाझ पुलमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।

आन्दोलनका बाबजुद पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको भन्दै किसानहरूले बिहीबार थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। जिल्ला अध्यक्ष अशोक यादवले सहायक प्रमुख जिल्ला अधिकारीको कार्यशैलीकै कारण किसानले अनुदान पाउन नसकेको आरोप लगाउँदै अनुदान रकम फ्रिज भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित अधिकारीले लिनुपर्ने बताए।

यता प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अनुदान वितरणको अधिकार सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिमा रहेको भन्दै आफूले प्रत्यक्ष हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे। उनले पटक–पटक समन्वय र छलफल गरिए पनि सहमति जुट्न नसकेको उल्लेख गर्दै मन्त्रालयसँग समेत समन्वय गरी समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए।

“आज दिउँसोसम्म केही सकारात्मक निष्कर्ष निस्किन्छ भन्ने अपेक्षा गरेका छौं। त्यसका लागि केही समय पर्खनुपर्ने अवस्था छ,” प्रमुख जिल्ला अधिकारी भुसालले बताए।

अनुदान रकम वितरणमा भएको ढिलाइले हजारौं उखु किसान प्रभावित भएका छन्। किसानहरूले समयमै रकम उपलब्ध नगराए आन्दोलन अझै सशक्त बनाउने चेतावनी दिएका छन्।

Back to top