एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । खुला सीमाका कारण तस्करी, लागूऔषध कारोबार, हुन्डी, राजस्व छली तथा विभिन्न आपराधिक गतिविधिका दृष्टिले संवेदनशील मानिने पर्सा जिल्लामा पछिल्लो समय नेपाल प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको कार्यसम्पादन विवरणले अपराध नियन्त्रण तथा कानुनी शासन कार्यान्वयनमा उल्लेखनीय प्रगति देखाएको हो ।
प्रहरीका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा ६२ करोड ९६ लाख ३२ हजार ६९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । यस अवधिमा विभिन्न मुद्दामा फरार रहेका १ हजार २७ जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये १७० वर्ष ५ महिना १ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ८ करोड २६ लाख ३ हजार ७१५ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
खुला सीमाको दुरुपयोग गर्दै हुने चोरी पैठारी, भन्सार छली, हुन्डी कारोबार तथा लागूऔषध ओसारपसारका गतिविधिले राज्यको राजस्वमा क्षति पुर्याउनुका साथै सङ्गठित अपराधलाई समेत बढावा दिने गरेको सुरक्षा निकायको निष्कर्ष छ । यही चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले सूचना–आधारित निगरानी प्रणाली सुदृढ गर्दै नियमित चेकजाँच, विशेष सुरक्षा अपरेसन र सम्बन्धित निकायसँगको समन्वयलाई तीव्र बनाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको नेतृत्वमा सञ्चालन गरिएका सुरक्षा अभियानले छोटो समयमै सकारात्मक परिणाम दिन थालेको प्रहरीको दाबी छ । प्रहरी स्रोतका अनुसार सम्भावित अपराधको पूर्व सूचना सङ्कलन, जोखिम विश्लेषण, संवेदनशील क्षेत्रको पहिचान तथा रणनीतिक परिचालनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिएको छ ।
प्रहरीका अनुसार यही सक्रियताका कारण तस्करी, हुन्डी कारोबार, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधिविरुद्ध प्रभावकारी नियन्त्रण कायम गर्न सफलता मिलेको हो । आगामी दिनमा पनि सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप सुदृढ गर्दै कानुनी शासन मजबुत बनाउने अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।