×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज ।  सङ्घीय सरकारले ‘डिजिटल नेपाल’ अभियानलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेका बेला पर्साको सीमावर्ती तथा पर्यटकीय क्षेत्र ठोरी गाउँपालिका भने अझै भरपर्दो मोबाइल तथा इन्टरनेट सेवाबाट वञ्चित रहेको छ। सामान्य वर्षा, हावाहुरी वा विद्युत् आपूर्ति अवरुद्ध हुनेबित्तिकै नेपाल टेलिकमको नेटवर्क पूर्ण रूपमा बन्द हुने समस्याले स्थानीयवासी, व्यवसायी, विद्यार्थी तथा पर्यटक दैनिक सास्ती खेप्न बाध्य भएका छन्।

ठोरी, ब्रह्मनगर, विजयबस्ती र सुवर्णपुरमा नेपाल टेलिकमका टावर सञ्चालनमा रहे पनि पर्याप्त ब्याकअप विद्युत् प्रणालीको अभावका कारण विद्युत् अवरुद्ध हुनेबित्तिकै मोबाइल तथा इन्टरनेट सेवा ठप्प हुने गरेको स्थानीयको गुनासो छ। यसले बैंकिङ सेवा, अनलाइन कारोबार, शैक्षिक गतिविधि, सरकारी सेवा तथा पारिवारिक सम्पर्कसमेत प्रभावित भइरहेको उनीहरूको भनाइ छ।

स्थानीय व्यवसायी विनोद पराजुलीका अनुसार सञ्चार सेवा आजको समयमा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भए पनि ठोरीमा सामान्य मौसम परिवर्तनसँगै नेटवर्क अवरुद्ध हुने अवस्था रहँदै आएको छ। समस्या समाधानका लागि नेपाल टेलिकमलाई पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराए पनि प्रभावकारी पहल हुन नसकेको उनले बताए।

त्यस्तै अर्का व्यवसायी दिनेश नेपालले गाउँपालिकाका केही क्षेत्रमा अहिले पनि मोबाइलमा नेटवर्क टिपाउन घरको छत वा खुला स्थानमा पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै ‘डिजिटल नेपाल’को नारासँग ठोरीको वास्तविक अवस्था मेल नखाने बताए।

ठोरी महत्वपूर्ण पर्यटकीय तथा सीमावर्ती क्षेत्र भएकाले यहाँ दैनिक रूपमा स्वदेशी तथा भारतीय पर्यटकको आवागमन हुने गर्दछ। तर कमजोर मोबाइल तथा इन्टरनेट सेवाका कारण होटल बुकिङ, अनलाइन भुक्तानी, डिजिटल कारोबार तथा यात्रासम्बन्धी सेवा प्रभावित हुने गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ। सुवर्णपुरका पर्यटन व्यवसायी अमृत श्रेष्ठका अनुसार पर्यटकबाट सबैभन्दा बढी गुनासो मोबाइल नेटवर्ककै विषयमा आउने गरेको छ।

बुद्धनगरका भीष्म घिमिरेले आपत्कालीन अवस्थामा नेटवर्क अवरुद्ध हुँदा एम्बुलेन्स, प्रहरी वा आफन्तसँग समेत सम्पर्क गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले यो विषय नागरिकको जीवन सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताए।

स्थानीयवासीले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग ठोरी क्षेत्रका सबै टावरमा उच्च क्षमताको ब्याकअप विद्युत् प्रणाली जडान गर्न, कमजोर नेटवर्क भएका स्थानमा थप प्राविधिक उपकरण स्थापना गर्न तथा सेवा गुणस्तरको प्राविधिक परीक्षण गरी दीर्घकालीन समाधान लागू गर्न माग गरेका छन्।

स्थानीयका अनुसार सीमावर्ती तथा पर्यटकीय महत्व बोकेको ठोरीलाई भरपर्दो सञ्चार सेवाबाट वञ्चित राख्नु ‘डिजिटल नेपाल’ अभियानमाथि नै प्रश्न उठाउने विषय हो। सम्बन्धित निकायले तत्काल समस्या समाधानतर्फ ध्यान नदिए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।

Back to top