×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नागरिक र प्रहरीबिचको सम्बन्धलाई अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउने उद्देश्यले वीरगञ्ज बसपार्कस्थित हर्ष पार्टी प्यालेसमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले प्रहरी सङ्गठन नागरिकप्रति पूर्ण रूपमा उत्तरदायी रहेको स्पष्ट पार्दै नागरिकको सहयोग र सहभागिताविना प्रभावकारी सुरक्षा व्यवस्था सम्भव नहुने बताए । उनले शान्ति सुरक्षा कायम राख्न प्रहरी एक्लैले मात्र नसक्ने उल्लेख गर्दै समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।
“नागरिकले उठाएका गुनासा र सुझावलाई हामी गम्भीर रूपमा लिन्छौँ । लागूऔषध नियन्त्रण, चोरी–डकैती न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सुरक्षाका विषयमा विशेष रणनीतिसहित अघि बढिरहेका छौँ,” एसपी पाठकले भने ।

विशिष्ट अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले व्यवसायी तथा सर्वसाधारणको सुरक्षाका लागि प्रहरीको सक्रियता प्रशंसनीय रहेको बताए । उनले उद्योग–व्यवसायमैत्री सुरक्षा वातावरण निर्माणका लागि निजी क्षेत्र र प्रहरीबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
“सुरक्षित वातावरण भए मात्र आर्थिक गतिविधि फस्टाउँछ । प्रहरी–नागरिक समन्वयले वीरगञ्जलाई सुरक्षित र व्यवस्थित सहर बनाउन मद्दत पुग्नेछ,” गौतमले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र (मुर्ली) पर्साका अध्यक्ष राम सर्राफले समुदाय–प्रहरी सहकार्यलाई संस्थागत गर्दै नियमित संवाद कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले लागूऔषध दुर्व्यसन र युवा पुस्तामा बढ्दो आपराधिक गतिविधि नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी–डकैती न्यूनीकरण, सार्वजनिक सुरक्षा तथा प्रहरी सेवासम्बन्धी विभिन्न जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख नवीन थापा मगर र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीले स्थानीय स्तरमा गस्ती, निगरानी र समुदायसँगको समन्वयलाई अझ प्रभावकारी बनाइएको जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव र वडा नम्बर १६ का वडा अध्यक्ष पशुराम चौरसियाले स्थानीय तह र प्रहरीबिच समन्वय सुदृढ गर्दै नागरिकको सुरक्षा र सुशासन सुनिश्चित गर्न संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरूले नियमित रूपमा यस्ता नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका थिए । उनीहरूले प्रहरी र नागरिकबिचको प्रत्यक्ष संवादले समस्या समाधान तथा आपसी विश्वास अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Back to top