वीरगञ्ज । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी विरोध प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
राज्यले आतंक र दमनको नीति अपनाएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनका क्रममा अनेरास्ववियुले ‘राज्य आतंक बन्द गर’, ‘गरिब जनतालाई तर्साउन पाइँदैन’ र ‘जनतालाई बाँच्न दे’ लगायतका नाराबाजी गरेको थियो।
अनेरास्ववियुका अनुसार पक्राउ पर्नेमा संगठनका अध्यक्ष दीपक धामी, निर्वाचन आयोगका अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटीका सचिव सुदीप थापा तथा सिरिस बुढाथोकी रहेका छन्।
प्रहरीले उनीहरूलाई प्रदर्शनका क्रममा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। यता अनेरास्ववियुले भने शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले दमन गरेको आरोप लगाउँदै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ।