वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन उपचार) केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई थप सुदृढ बनाउन आवश्यक योजना तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका हुन्।
प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चितताका लागि सङ्घ, प्रदेश सरकार तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे। उनले स्वास्थ्य सेवा गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउनु सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे।
छलफलका क्रममा उनले अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा सुशासनको कार्यान्वयनमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिए।
यस्तै, विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालहरूले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि उनले जोड दिए।
प्रधानमन्त्री शाहले एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट अभ्यास अन्य संस्थाले पनि सिकाइ र साझेदारीको माध्यमबाट अपनाउनुपर्ने आवश्यकता औंल्याए। साथै, स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा सहभागी उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन तथा स्वास्थ्य पूर्वाधार विकासका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
उनीहरूले स्वास्थ्य सेवाको डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।