वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा परेको घटनालाई लिएर सरकारको कडा आलोचना गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुकुम्वासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रतिबद्धता स्मरण गराउँदै नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलिएको टिप्पणी गरेका हुन्।
आङ्देम्बेका अनुसार सुरक्षित आश्रयको आश्वासन पाएका सुकुम्वासी अहिले पनि भोक, पानी, हिलो र असुरक्षाबीच बस्न बाध्य छन्। उनले यस अवस्थालाई राज्यको गैरजिम्मेवारी र असफल शासनको उदाहरणका रूपमा व्याख्या गरेका छन्।
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, 'ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन?'
आङ्देम्बेले होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवालाई नियन्त्रणमा लिएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकारमाथि दमन भएको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'झन दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाले प्रश्न सोध्नुलाई सरकारले अपराध नै ठानिएको देखियो।'
आङ्देम्बेले अन्त्यमा प्रधानमन्त्रीलाई सुकुम्वासीसँग गरिएको प्रतिबद्धताबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।