×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। झापाबाट काठमाडौं आएका प्रसाईंलाई विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नदिने उद्देश्यले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले उनलाई हिरासतमा भने नराखेको स्पष्ट पारेको छ। विमानस्थलबाट नियन्त्रणमा लिएपछि प्रहरीको गाडीमार्फत भक्तपुरस्थित उनको निवाससम्म पुर्‍याइएको थियो।

प्रहरीका अनुसार प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थल परिसरमै सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने तयारी गरेका थिए। तर, विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक रूपमा अभिव्यक्ति दिन नपाइने व्यवस्था भएकाले उनलाई त्यसो गर्न नदिइएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले प्रसाईंलाई कानुनी व्यवस्था पालना गराउने उद्देश्यले मात्रै नियन्त्रणमा लिइएको र उनलाई हिरासतमा नराखिएको जानकारी दिए।

यसैबीच, प्रसाईंको अभिव्यक्ति लिन विमानस्थल पुगेका केही युट्युबर तथा सञ्चारकर्मीलाई पनि प्रहरीले विमानस्थलको बाहिरी गेटमै रोकेको थियो।

प्रहरीले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधित क्षेत्रमा कुनै पनि प्रकारको सार्वजनिक सम्बोधन वा भीडभाड हुन नदिने नीति अनुरूप आवश्यक सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ।

Back to top