×

तस्बिर सौजन्य : घण्टाघर टिभी ।

वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक महिलाको शङ्कास्पद मृत्यु भएपछि घटनालाई लिएर परिवारले हत्या गरी आत्महत्याको रूप दिन खोजिएको आरोप लगाएको छ ।

मृतक निशा साहका बुवा रौतहटका ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारले आफ्ना ज्वाइँ नीरज साह सोनारले छोरीको हत्या गरी घरभित्र झुन्ड्याएर आत्महत्या जस्तो देखाउन खोजेको आरोप लगाएका हुन् ।

मृतकका परिवारजनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले घटनापछि घरका केही सदस्य सम्पर्कविहीन रहेको तथा फरार भएको दाबी समेत गरेका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने, घटनास्थलको निरीक्षण गर्ने तथा आवश्यक प्रमाण सङ्कलन गर्ने कार्य सम्पन्न गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको वास्तविकता पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा सङ्कलित प्रमाणका आधारमा खुल्नेछ । प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिहरूको खोजी गर्नुका साथै थप अनुसन्धान जारी रहेको जनाएको छ ।

घटनाको वास्तविक कारण अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेकाले प्रहरीले आधिकारिक अनुसन्धानको नतिजा नआउँदासम्म कुनै निष्कर्षमा नपुग्न सबैलाई आग्रह गरेको छ ।

Back to top