वीरगञ्ज । नेपाल भोजपुरी समाजको आयोजनामा वीरगञ्जस्थित चिल्ड्रेन माविमा भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा भोजपुरी भाषा, कला, संस्कृति र मौलिक पहिचानप्रति रुचि अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतियोगितामा कक्षा ७ का विद्यार्थी सुशान्त मण्डल मौलिक गीत प्रतियोगितामा प्रथम भएका छन् भने कक्षा ८ की स्नेहा साह वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल भएकी छन्। प्रतियोगिताको निर्णायक स्थानीय कलाकार अजमतअलि अन्सारी रहेका थिए।
यसैबीच, भोजपुरी शब्दकला विषयक रोमाञ्चक प्रतियोगितामा पनि अधिकांश विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको नेपाल भोजपुरी समाजका सल्लाहकार मनोजकुमार मिश्रले जानकारी दिए। उनले यस्ता कार्यक्रमले नयाँ पुस्तामा भोजपुरी भाषा र संस्कृतिप्रति अपनत्व बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रम चिल्ड्रेन माविका सञ्चालक तथा प्रधानाध्यापक सुमन दास र सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षिका रोसनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले कार्यक्रम सञ्चालन र व्यवस्थापनमा सहयोग गरेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी तथा स्थानीय कलाकार अजमतअलि अन्सारीले भोजपुरी गीत प्रस्तुत गरेका थिए। उनीहरूको सांगीतिक प्रस्तुतिले विद्यार्थीहरूलाई उत्साहित बनाउनुका साथै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
आयोजकले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।