सर्लाही । सर्लाहीको मलंगवास्थित नेपाल–भारत सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका केही अधिकारीमाथि तस्करीमा संलग्न व्यक्तिहरूसँग मिलेमतो गरी अवैध कारोबारलाई संरक्षण दिएको आरोप सार्वजनिक भएको छ। आरोपसँगै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।
प्राप्त जानकारीअनुसार मलंगवा गुल्ममा कार्यरत डीएसपी विष्णु अधिकारी र जवान विवेक यादवमाथि सीमावर्ती क्षेत्रमा सञ्चालन हुने तस्करीबाट मासिक रूपमा रकम असुल्ने आरोप लगाइएको छ।
आरोप लगाउने पक्षका अनुसार सखुवा बीओपीबाट करिब २०० मिटर दूरीमा रहेको एक कोल्ड स्टोरलाई रकम संकलन गर्ने माध्यमका रूपमा प्रयोग गरिएको दाबी गरिएको छ। सोही माध्यमबाट विभिन्न व्यापारी तथा तस्करीमा संलग्न व्यक्तिहरूबाट रकम संकलन गरी सम्बन्धित व्यक्तिसम्म पुर्याइने गरिएको आरोप छ।
त्यस्तै, मासिक रकम लिने सहमति भए पनि बेला–बेलामा देखावटी कारबाहीका रूपमा सामानसहितका सवारीसाधन नियन्त्रणमा लिने गरिएको आरोपसमेत लगाइएको छ। केही दिनअघि चिनियाँ स्याउ बोकेको गाडी नियन्त्रणमा लिइएको घटना पनि नियमित कारबाहीभन्दा देखावटी कदम भएको दाबी आरोप लगाउने पक्षको छ।
आरोपकर्ताहरूले केही व्यापारीसँग भएका अडियो रेकर्डमा नियमित रूपमा रकम बुझाउने विषय उल्लेख भएको दाबी गरेका छन्। उनीहरूका अनुसार सीमा क्षेत्रमा बेला–बेलामा अनुगमन टोली आउने जानकारीपछि केही दिन मात्रै कडाइ हुने र त्यसपछि पुनः तस्करी गतिविधि सञ्चालन हुने गरेको आरोप छ।
यस्तै, बलरा नगरपालिका अन्तर्गत छनकी, महनपुर र ननकार क्षेत्रबाट विभिन्न सामान खुला रूपमा नेपाल भित्रिने गरेको तथा सम्बन्धित सुरक्षा निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको स्थानीय स्रोतहरूको दाबी छ। उनीहरूका अनुसार यसले राजस्व चुहावटका साथै सीमावर्ती क्षेत्रमा अवैध कारोबारलाई बढावा दिएको छ।