वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री गुरुकुल एकेडेमीमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पदस्थापना उत्सव भव्य रूपमा सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा विद्यालयका सभापति इ. रामबाबु प्रसाद, प्रधानाध्यापिका तेजेन्द्र कौर तथा वीरगञ्ज मानव सेवाका दिवेश प्रसादको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा मुख्य छात्र, मुख्य छात्रा, उप–मुख्य छात्र, उप–मुख्य छात्रा, हाउस क्याप्टेन, खेलकुद संयोजक, अनुशासन प्रमुखलगायत विभिन्न विद्यार्थी प्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दिवेश प्रसादले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
उनले नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई विद्यालयको नीति, नियम र अनुशासनको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा उपस्थित अतिथि तथा अभिभावकहरूले विद्यालयले विद्यार्थीहरूको नेतृत्व विकास, अनुशासन र व्यक्तित्व निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध तथा नेतृत्व क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले नवनिर्वाचित विद्यार्थी नेतृत्व, हाउस क्याप्टेन, खेलकुद संयोजक, अनुशासन प्रमुख तथा शैक्षिक एवं खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ब्याज (बैच) लगाएर सम्मान तथा प्रोत्साहन गरेका थिए।
प्रधानाध्यापिका तेजेन्द्र कौरले विद्यार्थी नेतृत्वले अनुशासन, सेवाभाव र जिम्मेवारीका साथ विद्यालयको गरिमा कायम राख्दै समग्र विद्यालयको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। नवनिर्वाचित पदाधिकारीहरूले पनि विद्यालयको प्रतिष्ठा कायम राख्दै विद्यार्थी हितमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदान–प्रदान तथा विभिन्न सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। धन्यवाद ज्ञापनसँगै कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।