×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। असार महिना सुरु भएयता १५ कार्यदिनको अवधिमा १४६ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारीभन्दा बढी रहेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण पोखरेलका अनुसार चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्म देशभरबाट १४६ जना निजामती कर्मचारीले राजीनामा दिएका छन् भने १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन्।

उनका अनुसार विभिन्न व्यक्तिगत तथा अन्य कारणले कर्मचारीहरूले राजीनामा दिने क्रम बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिनेहरूको संख्या पनि उल्लेख्य रूपमा बढेको छ।

राजीनामा दिने कर्मचारीमध्ये ५ जना सहसचिव, ३३ जना उपसचिव, २९ जना शाखा अधिकृत तथा ७९ जना सहायक स्तरका कर्मचारी रहेका छन्। राजीनामा बुझाएका अधिकांश कर्मचारीले पेन्सनका लागि समेत आवेदन दिइसकेको महानिर्देशक पोखरेलले जानकारी दिए।

राजीनामा दिने कर्मचारीको संख्या बढेसँगै पेन्सन व्यवस्थापनका लागि राष्ट्रिय किताबखानामा प्राविधिक तथा प्रशासनिक दबाबसमेत बढेको उनले बताए।

Back to top