वीरगञ्ज। पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा लायन्स क्लब अफ पोखरियाको आयोजनामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान, लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महिला नेतृ आशा चौहान, विभिन्न राजनीतिक दलका नेता, क्लबका पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा हनुमान मन्दिरको जग्गा नामसारी गराउन विशेष भूमिका निर्वाह गरेका गोरख साह तेलीलाई उनको योगदानको कदर गर्दै प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा वक्ताहरूले निर्माणाधीन पार्कका लागि प्रदेश सरकारबाट विनियोजित बजेट आपसी विवादका कारण खर्च हुन नसकी फ्रिज हुनु दुःखद भएको उल्लेख गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य, आपसी समझदारी र एकता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
उनीहरूले हनुमान मन्दिर परिसरलाई हरियालीयुक्त, स्वच्छ तथा आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच साझा प्रतिबद्धता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।