बारा । भरतताल क्षेत्रमा सवारीसाधन पार्किङमा नराखेको अवस्थामा समेत जबर्जस्ती पार्किङ शुल्क असुल्ने गरिएको आरोप सार्वजनिक भएको छ। स्थानीयवासी तथा सवारी चालकहरूले पार्किङ सुविधा प्रयोग नगरे पनि केही व्यक्तिले अवैधरूपमा शुल्क असुल्दै आएको गुनासो गरेका छन्।
पीडितहरूका अनुसार पार्किङ नगरेका सवारीसाधनबाट समेत प्रति सवारी १०० रुपैयाँका दरले शुल्क लिने गरिएको छ। शुल्क तिर्न अस्वीकार गर्ने चालक तथा सर्वसाधारणलाई धम्की दिने, अभद्र व्यवहार गर्ने र कुटपिटसम्म गर्ने प्रयास भएको आरोप उनीहरूले लगाएका छन्।
पीडितहरूले दिएको जानकारीअनुसार शुल्क असुलीपछि प्रदान गरिने रसिदमा पार्किङ शुल्क उल्लेख गरिएको भए पनि त्यसमा छापिएको सम्पर्क नम्बरमा फोन गर्दा कम्पनी सञ्चालकको नभई अर्कै व्यक्तिले फोन उठाउने गरेको दाबी गरिएको छ। यसले रसिदको विश्वसनीयता तथा शुल्क असुली प्रक्रियामाथि समेत प्रश्न उठाएको उनीहरूको भनाइ छ।
सार्वजनिक भएको रसिदले पार्किङ शुल्क उठाइएको देखिए पनि पार्किङ नै नगरेका सवारीबाट कुन कानुनी आधारमा शुल्क असुल भइरहेको हो भन्ने विषयमा स्थानीयले सम्बन्धित निकायसँग स्पष्ट जवाफ माग गरेका छन्। साथै, यस्तो गतिविधि भइरहँदा सम्बन्धित निकाय मौन बसेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयवासी तथा सवारी चालकहरूले घटनाको निष्पक्ष छानबिन गरी अवैध शुल्क असुली तत्काल रोक्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी अनुगमन गर्न सम्बन्धित प्रशासनसँग माग गरेका छन्।
यस विषयमा सम्बन्धित पार्किङ व्यवस्थापन पक्ष वा प्रशासनको आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त हुन सकेको छैन।