एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
बारा । उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले बारा जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालित होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूमा संयुक्त अनुगमन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अगुवाइमा सम्पन्न अनुगमन निजगढ, कलैया र प्रसौनी क्षेत्रका विभिन्न खाद्य व्यवसायमा केन्द्रित रहेको थियो। सम्बन्धित निकायका प्रतिनिधिसहितको संयुक्त टोलीले खाद्य व्यवसाय सञ्चालनको अवस्था, सरसफाइ, खाद्य पदार्थको भण्डारण, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको स्थलगत निरीक्षण गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहका अनुसार व्यवसायीलाई भान्सा तथा पसल परिसर सधैं सफा राख्न, खाद्य सामग्रीलाई धुलो, धुवाँ तथा किराफट्याङ्ग्राको सम्पर्कबाट जोगाउन र अखाद्य तथा प्रतिबन्धित रङको प्रयोग नगर्न निर्देशन दिइएको छ।
त्यसैगरी, खाना पकाउन प्रयोग हुने तेलको गुणस्तरमा विशेष ध्यान दिन, एकपटकभन्दा बढी प्रयोग गरिएको तेल पुनः प्रयोग नगर्न, म्याद नाघेका खाद्य सामग्री बिक्री नगर्न तथा खाद्य वस्तु उचित तापक्रममा भण्डारण गर्न व्यवसायीलाई सचेत गराइएको कार्यालयले जनाएको छ।
अनुगमनका क्रममा खाद्य स्वच्छता तथा सुरक्षा सम्बन्धी आवश्यक मापदण्ड पूरा नगरेको एक व्यवसायिक प्रतिष्ठानमा कैफियत भेटिएपछि प्रचलित कानुनबमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।
कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट गर्दै आगामी दिनमा पनि यस्ता अनुगमनलाई नियमित र प्रभावकारी रूपमा निरन्तरता दिइने जनाएको छ।
साथै, सबै खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ। उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा गुणस्तर, लेबल, उत्पादन तथा उपभोग्य म्याद अनिवार्य रूपमा जाँच गरेर मात्रै खरिद गर्न अनुरोध गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित अनुगमनमार्फत बजारमा गुणस्तरीय खाद्य सामग्रीको उपलब्धता सुनिश्चित गर्दै उपभोक्ताको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ।