×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको गहवा बाल उद्यान तथा शिशु स्याहार केन्द्र शुक्रबार एक कार्यक्रमबीच औपचारिक रूपमा वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघमार्फत सञ्चालित ‘समृद्ध महिला, सुखी नेपाल’ (ईडब्लुपीएन) कार्यक्रमअन्तर्गत स्थापना गरिएको शिशु स्याहार केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगार समितिका सभापति प्रबलजंग पाण्डेले वीरगञ्ज महानगरपालिका–८ का वडा अध्यक्ष रितेश कुमार गुप्तालाई शिशु स्याहार केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले महिलाको श्रम बजारमा सहभागिता अभिवृद्धि गर्ने तथा पारिवारिक जिम्मेवारीसँगै रोजगारीमा सहज वातावरण सिर्जना गर्ने उद्देश्यले शिशु स्याहार केन्द्रको अवधारणा अघि सारिएको बताउनुभयो। निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यमा महिला तथा बालबालिकामैत्री कार्यस्थल निर्माणमा यस्ता केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्थानीय सरकारसँग सहकार्य गर्दै महिला तथा बालबालिकामैत्री कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सकारात्मक अभियानमा संघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आईएलओ मधेश प्रदेशका संयोजक महेन्द्र सहनीले श्रम बजारमा महिलाको सहभागिता बढाउन स्थानीय सरकार र निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। पारिवारिक तथा सामाजिक जिम्मेवारीका कारण धेरै महिला रोजगारीमा सहभागी हुन कठिनाइ भोग्ने भएकाले शिशु स्याहार केन्द्रले उनीहरूलाई ठूलो राहत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बालबालिकाको प्रारम्भिक विकासका लागि शिशु स्याहार केन्द्र अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता केन्द्रको विस्तारमा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्य, वडा नं. ८ का जनप्रतिनिधि, वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय समाजसेवी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

महिला उद्यमी सहजकर्ता अन्जु राना मगरले कार्यक्रम सञ्चालन गर्दै शिशु स्याहार केन्द्र स्थापना, सञ्चालन प्रक्रिया तथा हस्तान्तरणसम्बन्धी जानकारी गराउनुभएको थियो।

कार्यक्रमका वक्ताहरूले महिला श्रमिकलाई सुरक्षित र सहज कार्य वातावरण उपलब्ध गराउने तथा बालबालिकाको गुणस्तरीय स्याहार सुनिश्चित गर्न यस्ता शिशु स्याहार केन्द्रहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई अन्य स्थानीय तहमा समेत विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

Back to top