एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय मोटरसाइकल चोरी गिरोहमाथि प्रहरीले ठूलो सफलता हासिल गरेको छ। रक्सौल अनुमण्डल प्रहरीले चार वटा चोरीका मोटरसाइकल बरामद गर्दै गिरोहका मुख्य सरगनासहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ।
रक्सौलका डीएसपीका अनुसार पक्राउ परेकामध्ये चार जना नेपाली नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका एक आरोपितले दिएको बयानका आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उक्त गिरोहले भारत–नेपाल सीमावर्ती क्षेत्रबाट मोटरसाइकल चोरी गरी नेपालतर्फ ल्याएर बिक्री–वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूको साथबाट चार वटा चोरीका मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, गिरोहका अन्य सदस्यहरूको पहिचान गरी पक्राउ गर्न खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय मोटरसाइकल चोरीका घटनाहरू बढ्दै गएपछि प्रहरी सक्रिय रूपमा अनुसन्धान र निगरानीमा जुटेको जनाएको छ। प्रहरीले चोरीका सवारीसाधन खरिद–बिक्री नगर्न तथा शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।