×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । देशभर मनसुनी वायु सक्रिय रहँदा मधेस प्रदेशमा आज (बिहीबार) मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी प्रणालीको प्रभावका कारण विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

विभागका अनुसार बिहीबार बिहान कोसी र मधेस प्रदेशका तराईका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । दिउँसो मधेस प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पुनः मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यसैगरी, रातिको समयमा पनि मधेस प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसम महाशाखाले चट्याङ, हावाहुरी तथा पानीका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

देशका अन्य प्रदेशहरूमा पनि बदली रही हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहे तापनि मधेस प्रदेशमा विशेषगरी तराई क्षेत्र केन्द्रित भई मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

मनसुन पूर्ण रूपमा सक्रिय रहेकाले नदी–नाला आसपासका क्षेत्र, डुबान हुने सम्भावित ठाउँ तथा कमजोर संरचनामा बसोबास गर्नेहरूले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

Back to top