×

फाइल तस्बिर ।

वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न चोक, पुल, पार्क तथा अन्य सार्वजनिक स्थानहरूमा राखिएका नेपालको राष्ट्रिय झन्डाको नियमित मर्मत, फेरबदल तथा संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

मङ्गलवार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला भरका स्थानीय तहहरूका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् ।

जिल्लाका विभिन्न स्थानहरूमा स्थानीय तहहरूबाट राखिएका राष्ट्रिय झन्डाहरू च्यातिएको, रङ्ग उडेको तथा फोहोर अवस्थामा फेला परेको भन्ने जनस्तरबाट व्यापक गुनासो प्राप्त भएपछि प्रशासनले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको राष्ट्रिय झन्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको मर्यादा र सम्मान अक्षुण्ण राख्नु सबैको साझा संवैधानिक तथा नागरिक कर्तव्य भएको प्रमुख जिल्ला अधिकारी दाहालले उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले “राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९” बमोजिम सार्वजनिक स्थानमा प्रयोग गरिने झन्डा मर्यादित, सफा र सग्लो हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै स्थानीय तहअन्तर्गतका सार्वजनिक स्थल, चोक तथा पुलहरूमा राखिएका राष्ट्रिय झन्डाहरूको अवस्था तत्काल निरीक्षण गर्न निर्देशन दिएको छ ।

च्यातिएका, रङ्ग उडेका वा फोहोर भएका झन्डाहरू तुरुन्त हटाई तोकिएको मापदण्डअनुसारका नयाँ झन्डा राख्ने व्यवस्था मिलाउन, सार्वजनिक स्थानमा राखिएका झन्डाहरूको अवस्थाबारे नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न, पुराना वा मक्किएका झन्डाहरूलाई जथाभाबी नफ्याँकी कार्यविधि बमोजिम आदरपूर्वक र सुरक्षित तरिकाले विसर्जन गर्न तथा झन्डा राखिएका स्थानहरूको सरसफाइ र सुरक्षाको पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिन परिपत्रमार्फत निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय झन्डाको सम्मान र संरक्षणमा गम्भीरता अपनाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

Back to top