×

वीरगञ्ज । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ ।

सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ । कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा अनुप्रयोग प्रोग्रामिङ इन्टरफेस (एपीआइ) मार्फत आबद्ध गरिने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइएको छ ।

प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि ‘फ्ल्यागिङ प्रणाली’ समेत रहनेछ । दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचानका लागि उक्त प्रणाली उपयोगी हुने मन्त्रालयले जनाएको छ । साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘प्रोसेस ट्र्याकिङ प्रणाली’ मार्फत अनलाइनबाटै हेर्न सक्नेछन् ।

मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन् । आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग एपीआइ मार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि गरिएको छ । सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने जनाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन् । उनका अनुसार प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयले यस प्रणालीमार्फत कर्मचारी प्रशासनलाई थप व्यवस्थित र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेको छ ।

Back to top